इलाम।इलामको प्रमुख नगदेबालीको रुपमा रहेको चिराइतोको मूल्य घट्न थालेपछि किसान चिन्तित हुन थालेका छन्। आलु, मकै, गहुँ जस्ता खाद्यान्न बाली मासेर चिराइतो शुरु गरेका किसान वर्षेनी चिराइतोको मूल्य ओरालो लागेपछि चिन्तित भएका हुन्।
जिल्लाको २६ गाविसका किसानले खाद्यान्न बाली मासेर नगदेबालीका रूपमा चिराइतो लगाएका छन्। अन्य नगदेबाली मासेर चिराइतो खेतीमा लागेका किसानहरुले उचित मुल्य नपाउदा लगानी समेत उठाउन नसक्ने अवस्थामा पुगेको छन्। ३ बर्ष अघि २५ हजार रुपैयाँ प्रति मनका दरले विक्री भएको चिराइतो गत वर्ष १८ हजार रुपैयाँ प्रति मनका दरले बिक्री भएको थियो। यसपाली १४ हजार मात्र मूल्य पाएको किसानहरुले गुनासो गरे। उच्च रक्तचाप, ज्वरो आउँदा घरेलु औषधिका रुपमा गाउँमा प्रयोग हुने चिराइतो सुलुबुङ्ग, माइपोखरी, माइमझुवा, माबु, जमुना, प्याङ, नयाँबजार लगायतका गाविसहरुका चार हजार भन्दा बढी किसानहरुको आम्दानीको मुख्य श्रोत हो। गत आर्थिक वर्ष ०७२÷०७३ मा जिल्लामा उत्पादन भएको ४२ हजार ८ सय ९५ किलो चिराइतो निकासी भएको जिल्ला वन कार्यालयको तथ्याङ्क छ।
चिराइतोमाथि भारतको एकाधिकार बजार रहेकाले भनेजस्तो मुल्य पाउन नसकेको किसानहरुको गुनासो छ। किसानहरुले चिराइतोको मुल्य नपाइरहेको अवस्थामा जिल्ला वन कार्यालय इलामले जडिबुटी विकासका लागी भनेर चालु आर्थिक बर्षमा पकेट क्षेत्रमा चिराइतो खेती विस्तारका लागी २५ लाख रुपैयाँ विनियोजन गरेको छ।