
नेपालगन्ज। चाडपर्वका बेला सर्वसाधारणले भोकमरीको समस्या बेहोर्नु नपरोस् भनेर खाद्य संस्थानले कर्णालीका लागि हवाई मार्गबाट खाद्यान्न ढुवानी सुरु गरेको छ । दसैँ र तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर संस्थानले दुर्गम कर्णालीमा हवाई मार्गबाट खाद्यान्न ढुवानी सुरु गरेको हो ।
कर्णालीका पाँचवटै जिल्लामा खाद्यान्न ढुवानी भइरहेको जनाउँदैै हुम्ला, डोल्पा र मुगु जिल्लामा हवाई मार्गबाट ढुवानी भइरहेको नेपालगञ्जस्थित खाद्य संस्थानको अन्चल कार्यालयले जनाएको छ ।
कर्णालीका लागि सम्पूर्ण खाद्यान्न ढुवानी सर्खेतबाट गराइरहेको जनाउँदै खाद्य संस्थानको अन्चल कार्यालय नेपालगञ्जले कालिकोट र जुम्लाका लागि स्थलमार्र्गबाट खाद्यान्न ढुवानी भइरहेको जानकारी दिएको छ ।
दसैँअघि नै कर्णालीका सबै जिल्लामा खाद्यान्न पठाइ सकिने समेत अञ्चल कार्यालयले जनाएको छ । कर्णालीका केही जिल्लामा अझै पनि खाद्यान्न मौज्दात रहेको नेपाल खाद्य संस्थान सुर्खेत शाखाले जानकारी दिएको छ ।
डोल्पामा एक हजार ५ सय क्विन्टल र मुगुमा ६ हजार क्विन्टल चालम अहिले पनि मौज्दात रहेपनि ती जिल्लामा खाद्यान्न पठाउने काम सुरु गरिएको सुर्खेत शाखाको भनाई छ ।
समयमै खाद्यान्न ढुवानी नहुँदा अघिल्ला वर्षहरूमा कर्णालीवासीले दसैँ र तिहारजस्ता चाडपर्व पनि खुसीसाथ मनाउन पाएका थिएनन् । भोकमरीका कारण उनीहरूका लागि चाडपर्व दशा बनेर आउने गरेका थिए ।
तर यस वर्ष कर्णालीवासीको उक्त समस्या समाधानका लागि समयमै खाद्यान्न ढुवानीको काम गरिएको जनाइएको छ ।
वर्षाका कारण स्थलमार्ग अवरुद्ध भएकाले कालिकोट र जुुम्लामा ढुवानीमा केही ढिलाइ भएको जनाइएको छ ।
कर्णालीमा समस्या हुन नदिन सुर्खेतस्थित नेपाल खाद्य संस्थानको शाखा कार्यालयमा पनि अहिले १४ हजार ९ सय १२ क्विन्टल चामल सङ्कलन गरी राखिएको छ । मुगुमा सबैभन्दा बढी ६ हजार क्विन्टल चालम मौज्दात रहेको र अन्य जिल्लाहरूमा पनि चामल मौज्दात रहेको जनाईएको छ ।
सबैभन्दा बढी खाद्यान्न अभाव देखिएको हुम्लामा नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी भइरहेको छ ।
कर्णालीमा समस्या हुन नदिन सुर्खेतस्थित नेपाल खाद्य संस्थानको शाखा कार्यालयमा पनि अहिले १४ हजार ९ सय १२ क्विन्टल चामल सङ्कलन गरी राखिएको छ ।
संस्थानले दिएको जानकारी अनुसार कर्णालीका पाँच जिल्लामध्ये हुम्लामा बढी खाद्यान्न अभाव हुने गरेको छ ।
अहिले पनि अन्य सबै जिल्लाहरूमा खाद्यान्न मौज्दात रहँदा हुम्लाका विकट क्षेत्रमा भने अभाव रहेको छ । जनसङ्ख्या बढी भएको हुम्लाको सर्केघाट क्षेत्रको ९ वटा गाविस र श्रीनगर क्षेत्रका ५ वटा गाविसमा खाद्यान्न अभाव कायमै रहेको स्थानीयवासीले जनाएका छन् ।
दसैँभन्दा अगाडि नै ती सबैठाउँमा प्रर्याप्त मात्रामा खाद्यान्न पुगिसक्ने खाद्य संस्थानको अन्चल कार्यालयले जनाएको छ । त्यसैका लागि अहिले तीव्र गतिमा ढुवानी भइरहेको पनि सो कार्यालयको भनाई छ ।