चितवन। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्दै यसवर्षको विश्व अण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । अण्डालाई सन्तुलित आहारको महत्वपूर्ण हिस्साका रूपमा प्रवद्र्धन गर्दै यसको पोषण र स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावबारे आम नागरिकलाई जानकारी गराउँदै दिवस मनाउन लागिएको हो ।
संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार मनाइने विश्व अण्डा दिवस यस वर्ष असोज २३ गते अर्थात् अक्टोबर ९, २०२६ शुक्रबार मनाइँदैछ । यसवर्ष दिवसको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ । सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको विश्व अण्डा दिवसले यस वर्ष ३० वर्ष पूरा गर्दैछ ।
चितवनमा नेपाल लेयर्स कुखुरापालक संघको मूल आयोजनामा अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिल (युएसएसईसी)को सहयोग तथा सरकारी र निजी क्षेत्रको सहकार्यमा विशेष कार्यक्रम आयोजना गरिनेछ । असोज २३ गते बिहान ७ बजे उद्योग संघ चितवनको परिसरबाट ‘एग वाक’ आयोजना हुनेछ । उद्योग संघ चितवनबाट सुरु हुने एग वाक नारायणगढको शहीद चोक पुगेर समापन गरिनेछ ।
एग वाकमा अण्डाको पोषण, स्वास्थ्यमा यसको सकारात्मक प्रभाव तथा दैनिक आहारमा अण्डाको महत्वबारे जानकारी दिइनेछ ।
सोही दिन सरोकारवालाको सहभागितामा प्यानल डिस्कसनसमेत आयोजना गरिनेछ । कार्यक्रममा अण्डाको उत्पादन, पोषण, स्वास्थ्य, उपभोग, बजार तथा नेपाली समाजमा अण्डाको महत्त्वलगायत विषयमा छलफल गरिनेछ ।
संघले विश्व अण्डा दिवसका अवसरमा आयोजना हुने कार्यक्रममा सरकारी निकाय, स्वास्थ्य तथा पोषण क्षेत्रका विज्ञ, व्यवसायी, किसान, सञ्चारकर्मी, विद्यार्थी, उपभोक्ता लगायत सबै सरोकारवालालाई सहभागी हुन आग्रह गरेको छ ।









