लमजुङ। लमजुङको भोर्लेटारमा पहिलोपटक ‘मध्यनेपाल रैथाने हाट बजार’ सुरु भएको छ । मध्यनेपाल नगरपालिका वडा नेपाल -६ ,भोर्लेटारमा वडा कार्यलयको प्राङ्गणमा नगर प्रमुख रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यमा वडा नम्बर -६ को वडा अध्यक्ष विष्णु भक्त पौडेलको संयोजकत्वमा आजदेखि ‘मध्यनेपाल रैथाने हाट बजार’ औपचारिक रुपमा सुरु भएको छ ।
किसानहरुको घरबारीमा जेजति उत्पादन हुन्छ, त्यो सबै यहाँ ल्याएर बिक्री गरी आम्दानी लिन पाउने व्यवस्था गर्न हाट बजार सञ्चालनमा ल्याएको नगर प्रमुख नगर पाण्डेले बताए । त्यस्तै, हाट बजार उद्घाटन कार्यक्रममा पालिकाको उप-प्रमुख सीता गुरुङ, प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला, लमजुङ जिल्ला कृषि प्रसार अधिकृत सरोज थापा, नगर प्रवक्ता राम चन्द्र भण्डारीलगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
हाट बजारको पहिलो दिनमै किसानहरु र उपभोक्ताहरुको उल्लेख्य भीड लागेको छ । आफ्नै उत्पादनको राम्रो मूल्य पाउने र उपभोक्ताहरुले ताजा कृषि उपज सस्तोमा पाउने भएपछि हाट बजारप्रति स्थानीयको आकर्षण बढेको छ । हाट बजारमा सस्तो, ताजा, गुणस्तर र कम मूल्यमा सामान किन्न पाउने गरी सञ्चालनमा ल्याएको हाट बजारबाट उपभोक्ता र कृषक दुवैका लागि फाइदा पुग्ने अपेक्षा गरिएको छ । हाट बजारले ग्रामीण र सहरी बासिन्दाहरूबीचको सम्बन्ध जोड्न र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।









