ललितपुर। कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्काशन गर्ने तयारी अघि बढाएको छ । कम्पनीले आइपिओ निष्काशन तथा पूँजी संरचना सुदृढीकरणका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शकर्ता नियुक्त गरेको छ ।

एग्री केयर नेपाल र नेपाल लाइफ क्यापिटलबीच शुक्रबार श्रावण २९ गते भरतपुर–४, चितवनस्थित एग्री केयर नेपालको कार्यालयमा ‘Corporate Advisory Services’  सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा एग्री केयर नेपालका अध्यक्ष रबिन अधिकारी र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नेपाल लाइफ क्यापिटलले एग्री केयर नेपाललाई सर्वसाधारणमा जाने तयारीअन्तर्गत आईपीओ परामर्श, पूँजी पुनर्संरचना, कम्पनीको वित्तीय तथा कानुनी अवस्थाको अध्ययन र मूल्यांकनलगायतका सेवा उपलब्ध गराउनेछ ।

त्यस्तै, कम्पनीको पूँजी संरचना तथा सम्भावित आईपीओको आकार निर्धारण, आवश्यक संरचनागत सुधार र नियामकीय प्रक्रियामा आवश्यक समन्वयसमेत क्यापिटलले गर्नेछ ।

सन् २००४ मा स्थापना भएको एग्री केयर नेपालले प्लान्ट न्युट्रिसन, ट्रेस एलिमेन्ट्स तथा गुणस्तरीय कृषि सामग्रीबाट व्यवसाय सुरु गरेको हो । सन् २००९ मा बायो–टेक्नोलोजी युनिट सञ्चालनमा ल्याउँदै कम्पनीले जैविक विषादी तथा लाभदायी सूक्ष्मजीवमा आधारित उत्पादनतर्फ समेत विस्तार गरेको थियो ।

हाल कम्पनीले क्रप प्रोटेक्सन, प्लान्ट न्युट्रिसन, फर्टिलाइजर, सोल कन्डिसनर तथा बायो–इनपुट्समार्फत किसानलाई सेवा दिँदै आएको जनाएको छ । विज्ञानमा आधारित कृषि समाधानमार्फत किसानको उत्पादकत्व र बालीको गुणस्तर वृद्धि, माटोको दीर्घकालीन स्वास्थ्य तथा दिगो कृषि अभ्यासलाई कम्पनीले प्राथमिकता दिँदै आएको छ ।

किसानलाई कृषि प्रविधि तथा उत्पादनसम्बन्धी जानकारी उपलब्ध गराउन कम्पनीले विभिन्न प्रशिक्षण कार्यक्रम र ‘किसान कल सेन्टर’ जस्ता पहलसमेत सञ्चालन गर्दै आएको जनाएको छ ।