ललितपुर। नेपालको पुष्प व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले आगामी कात्तिकमा ‘१९औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी–२०८३’ आयोजना गर्ने भएको छ ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नारासहित यस वर्षको मेला सञ्चालन हुन लागेको हो । नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित गोदावरी फूल प्रदर्शनीको रूपमा परिचित यो मेला आगामी १२ देखि १६ कात्तिकसम्म ललितपुरको जावलाखेल खेल मैदानमा सञ्चालन हुनेछ ।

पाँच दिनसम्म चल्ने यस प्रदर्शनी अवलोकनका लागि हरेक दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको आयोजकले जनाएको छ । यस वर्षको प्रदर्शनीमा करिब ९० वटा स्टलहरू रहनेछन्, जहाँ विभिन्न नर्सरी, व्यावसायिक फार्म तथा पुष्प क्षेत्रसँग सम्बन्धित संघ–संस्थाहरूको प्रत्यक्ष सहभागिता रहनेछ ।

मेलामा विशेष गरी गोदावरी फूलको सौन्दर्य र विविधतालाई प्राथमिकता दिँदै इन्कर्भ, रेफ्लेक्स, स्पाईडर, मिनियचर र कट फ्लावर गरी पाँच विभिन्न विधामा प्रतिस्पर्धा गराइनेछ ।

प्रतियोगितामा उत्कृष्ट ठहरिने प्रदर्शक तथा सहभागीहरूलाई हौसला स्वरूप पुरस्कार र प्रशंसापत्र प्रदान गरिने कार्यक्रम रहेको छ । मेलामा विभिन्न प्रजातिका फूल तथा बिरुवाहरूका साथै आधुनिक खेतीमा प्रयोग हुने औजार, गुणस्तरीय मलखाद र बीउबिजनको समेत प्रदर्शनी तथा बिक्री–वितरण गरिनेछ ।

पुष्प व्यवसायीहरूले यहाँबाट आधुनिक खेती प्रविधि, बजार व्यवस्थापनका नयाँ आयाम र व्यावसायिक अवसरहरूका बारेमा एक–आपसमा जानकारी आदानप्रदान गर्ने र विशेषज्ञहरूबाट परामर्श लिने अवसर समेत पाउनेछन् ।

मेलामा सहभागी हुन चाहने व्यवसायीहरूका लागि स्टल बुकिङको समयतालिका समेत सार्वजनिक गरिएको छ । एसोसिएसनका सदस्यहरूका लागि १ भदौदेखि र गैर–सदस्यहरूका लागि ८ भदौ गतेदेखि स्टल बुकिङ खुल्ला गरिनेछ ।

स्टल शुल्कको हकमा सदस्यहरूका लागि २५ हजार रुपैयाँ र गैर–सदस्यहरूका लागि ५० हजार रुपैयाँ तोकिएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालले यस भव्य प्रदर्शनीमा सहभागी भई पुष्प व्यवसायको विकासमा सहयोग पुर्‍याउन र फूलको सौन्दर्यको आनन्द लिन पुष्प व्यवसायी, किसान, उद्यमी तथा सम्पूर्ण सर्वसाधारणमा आग्रह गरेको छ ।