नुवाकोट। बेलकोटगढी नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको युवामुखी १ महिने बेकरी तालिम आज सम्पन्न भएको छ । नुवाकोटको बाघखोरमा आयोजित समापन कार्यक्रममा नगर प्रमुख जगत बहादुर गुरुङले रैथाने उत्पादनलाई आधुनिक परिकारमा रूपान्तरण गर्दै स्थानीय उद्यम र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु पर्नेमा जोड दिए ।

समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख गुरुङले तालिमको सुरुवातमै प्रशिक्षकलाई मैदाको सट्टा स्थानीय स्तरमा उत्पादन हुने कोदो, फापर र गहुँको पिठो प्रयोग गर्न आग्रह गरिएको स्मरण गराए । गुरुङका अनुसार नेपालमा प्रशस्त उत्पादन हुने रैथाने बालीबाट विभिन्न खाद्य परिकार तयार गर्न सकिने सम्भावना भए पनि त्यसको पर्याप्त उपयोग हुन सकेको छैन । कोदोबाट केक, बिस्कुट तथा अन्य बेकरी सामग्री उत्पादन गर्न सकिने उल्लेख गर्दै आलु, केरा, फर्सी लगायत स्थानीय उत्पादनलाई समेत आधुनिक खाद्य परिकारमा रूपान्तरण गर्न खोज, अनुसन्धान र नवप्रवर्तन आवश्यक रहेको बताए ।

नगर प्रमुख गुरुङले विदेशी कच्चा पदार्थमा निर्भर हुने परम्परालाई परिवर्तन गर्दै रैथाने उत्पादनलाई प्राथमिकता दिन सके स्वास्थ्य, कृषि तथा स्थानीय अर्थतन्त्र सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्ने धारणा राखे । गुरुङले आगामी आर्थिक वर्षदेखि स्थानीय उत्पादनलाई मुख्य आधार बनाएर विभिन्न परिकार बनाउन विशेष सीपमूलक तालिम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । ‘हाम्रो सोच र लगानीलाई परिणाममुखी बनाउन सबैको सहकार्य आवश्यक छ । समूह बनाएर उद्यम गर्न चाहनेहरूलाई नगरपालिकाले निरन्तर सहयोग गर्ने छ’, गुरुङले भने ।

नगरपालिकाले सञ्चालन गरेको उक्त तालिमले सहभागी युवालाई बेकरीसम्बन्धी सीप प्रदान गर्नुका साथै स्वरोजगार र उद्यमशीलतातर्फ प्रेरित गरेको विश्वास व्यक्त गरिएको छ । सहभागीहरूले तालिमबाट प्राप्त ज्ञानलाई व्यावसायिक रूपमा प्रयोग गरी स्थानीय उत्पादनको मूल्य अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएका छन् ।

बेलकोटगढी नगरपालिकाले पछिल्ला वर्षहरूमा युवालाई सीप, रोजगारी र उद्यमसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ । स्थानीय स्रोत, साधन र रैथाने उत्पादनको उपयोगमार्फत आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माण गर्ने नगरपालिकाको अभियानमा यो तालिम अर्को महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।