ललितपुर। “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” मूल नाराका साथ आज २३ औँ राष्‍ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८३ विभिन्‍न कार्यक्रमक आयोजना गरी मनाइँदै छ।

जलवायु परिवर्तनको कृषि क्षेत्रमा नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै धान खेतीमा जलवायु अनुकूलन प्रविधिको अनुसन्धान, विकास, प्रसार तथा प्रयोगलाई प्रोत्साहित गर्नु यस वर्षको दिवसको मुख्य सन्देश रहेको छ।

वि.सं. २०६१ बाट सुरुवात भएको राष्‍ट्रिय धान दिवस मनाउने परम्पराको २३ औँ संस्करण २०८३ आषाढ १५ मा नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्‍ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा राष्ट्रिय योजना आयोगका सदस्य, कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव लगायतको उपस्थितिमा विशेष समारोह आयोजना गरी मनाइएको छ।

नेपाली समाजमा असार १५ लाई ‘दही–चिउरा’ खाने पर्वका रूपमा समेत लिइन्छ । मानो रोपेर मुरी फलाउने यो महत्वपूर्ण समयमा किसान दिनभर खेतको काममा व्यस्त हुने र ऊर्जाका लागि दही–चिउरा खाने मौलिक परम्परा रहि आएको छ ।

असार महिनालाई नेपाली कृषकहरूले वर्षभरिका लागि खाद्यान्न जोहो गर्ने मुख्य समयका रूपमा लिने गर्दछन् । नेपालको कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान उल्लेखनीय रहेको छ ।

आत्मनिर्भर अर्थतन्त्र र खाद्य सुरक्षाका दृष्टिले धानको उत्पादन र उत्पादकत्व वृद्धि गर्नु राष्ट्रिय आवश्यकता बनेको छ । आजका दिन किसान हिलो खेल्दै, असारे गीत गाउँदै र धान रोप्दै हर्षोल्लासका साथ यो उत्सव मनाइरहेका छन् ।