ललितपुर। कृषि, वन तथा वातावरण मन्त्रालयले प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य (मिनिमम सेलिङ प्राइस- एमएसपी) तथा न्यूनतम खरीद मूल्य निर्धारण सम्बन्धी निर्देशिका‚ २०८२ जारी गर्दै गहुँ‚ धान र वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
मन्त्रालयले ‘न्यूनतम समर्थन मूल्य र न्यूनतम खरीद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२’ जारी गर्दै बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू गरेको जनाएको हो । सरकारका १०० बुँदे शासकीय सुधार कार्यक्रमअन्तर्गत मुख्य मुख्या खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य मन्त्रालयले निर्धारण गरेको हो ।
उक्त निर्देशिका गत वैशाख १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएर कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दर्ता गरिएको र मन्त्रालयको वेबसाइटमार्फत निर्देशिका सार्वजनिक गरिएको छ ।
कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीका अनुसार बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकिँदा किसानले आफ्नो बालीको लागत, सम्भावित आम्दानी र त्यसको बजारका आधारमा कुन बाली लगाउने भनेर तय गर्न निर्देशिकाले सहज बनाउँछ । उनका अनुसार आफूले पाउने मूल्य पहिले नै निर्धारण भएपछि सोही आधारमा उक्त बाली लगाउने वा अर्को विकल्प रोज्ने निर्णय गर्न किसानलाई सहज हुनेछ ।
मन्त्रालयले आर्थिक वर्ष (आव) २०८२/८३ का लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको जनाएको छ । आगामी आव २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य यही जेठ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले तोकेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको प्रतिक्वीन्टल मूल्य ३ हजार ८६० रुपैयाँ तोकिएको छ ।
वर्षे मकैको पनि न्यूनतम समर्थन मूल्य तोकिने :
मन्त्रालयले आगामी आवका लागि वर्षे मकैको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया अघि बढाएको जनाएको छ । यसअघि वर्षे मकैको समर्थन मूल्य तोक्ने व्यवस्था नभएको बताउँदै मन्त्रालयले मूल्य निर्धारणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ ।
आव २०८२/८३ का लागि उखुको न्यूनतम खरीद मूल्य मन्त्रिपरिषद्ले २०८२ मंसिर २२ गतेको बैठकले तोकिसकेको छ । पनि मन्त्रालयका अनुसार आगामी आव २०८३/८४ का लागि उखुको न्यूनतम खरीद मूल्यसम्बन्धी प्रस्ताव आगामी कात्तिक मसान्तभित्र मन्त्रिपरिषद्मा लगिनेछ ।









