ललितपुर। नेपाल र स्पेनबीच कृषि आधुनिकीकरण, प्रविधि हस्तान्तरण तथा दिगो कृषि विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।

कृषि तथा वन तथा वातावरण मन्त्रालयमा भएको शिष्टाचार भेटमा कृषि तथा वन तथा वातावरण मन्त्री गीता चौधरी र नेपालका लागि स्पेनका गैर–आवासीय राजदूत Juan Antonio March Pujol कृषि क्षेत्रको डिजिटलाइजेशन, जल व्यवस्थापन, जलवायु–अनुकूल कृषि प्रणाली र गुणस्तरीय उत्पादनका विषयमा विस्तृत विचार–विमर्श भएको मन्त्रालयले जनाएको छ ।

भेटमा स्पेन पक्षले कृषि प्रविधि, ट्रेसबिलिटी प्रणाली, लगानी तथा उत्पादन गुणस्तर सुधारमा नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताएको छ । साथै स्पेनमा विकसित जैतुन तेल उत्पादन प्रणाली, वाइन उद्योग, सिट्रस तथा अंगुर खेतीका आधुनिक अभ्यासहरूबारे जानकारी पनि आदान–प्रदान गरिएको थियो ।

राजदूत पुजोलले सन् २०२७ मा हुने Food and Agriculture Organization (FAO)  को महानिर्देशक निर्वाचनमा नेपालको समर्थन अपेक्षा गरिएको विषय पनि उठाउनुभएको थियो । त्यसबारे मन्त्री चौधरीले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइने बताए ।

स्पेन पक्षले आफ्नो देशमा आयोजना हुने कृषि प्रदर्शनी, लगानी सम्मेलन तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा नेपाली उत्पादक र सरोकारवालालाई सहभागी हुन आग्रह गरेको छ । साथै महिलासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाललाई पनि आमन्त्रण गरिएको जानकारी दिइएको छ ।

मन्त्री गीता चौधरी ले नेपालमा कृषि डिजिटलाइजेशन, युवा सशक्तीकरण र कृषि नवप्रवर्तनलाई प्राथमिकतामा राखिएको बताउँदै जीआई ९भौगोलिक संकेत० दर्ता प्रक्रिया अघि बढाइएको जानकारी दिए । उनले सुन्तला र किवी खेतीका पाइलट कार्यक्रम सञ्चालन भइरहेको पनि उल्लेख गरे ।

नेपालले परम्परागत कृषिलाई बजारमुखी र प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याउँदै जलवायु परिवर्तनको उच्च जोखिम सामना गर्न स्पेनको अनुभव उपयोगी हुने विश्वास व्यक्त गरिएको छ ।