ललितपुर।  प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । खेतीको मुख्य मौसम सुरु हुन लाग्दा पनि किसानले सहज रूपमा मल नपाएको भन्दै कृषिलाई व्यावसायिक र जिम्मेवार बनाउन आवश्यक कदम चाल्न उनीहरूले आग्रह गरेका हुन् ।

सांसद विक्रम खनालले किसानहरू मल खरिद गर्न साहुसँग ब्याजमा ऋण लिन बाध्य भएको उल्लेख गर्दै सरकारले समयमै मल उपलब्ध गराउन विशेष ध्यान दिनुपर्ने बताए । सांसद सुनिल केसीले पनि किसानलाई आवश्यक परिमाणमा मल उपलब्ध गराउन माग गरे ।

सांसद शम्भुप्रसाद ढकालले नेपाली किसानले उत्पादन गरेका केरा लगायत कृषि उपजको बजार सुनिश्चित गर्नुपर्ने बताए । उनले विदेशी वस्तुभन्दा स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

बैठकमा सांसदहरूले सडक सुरक्षा, पर्यटन, स्वास्थ्य, शिक्षा, खानेपानी, उद्योग, व्यापार तथा सुकुमवासी समस्या लगायत विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए ।