दिव्य लक्ष्मी बज्राचार्यको आत्मकथा “माटो मैया” पढी सके पछि एक माटो प्राविधिकको आँखाबाट नेपालको विकास यात्रा लाई बुझ्ने मौका पाएँ । नेपालको पहिलो माटो विशेषज्ञका रूपमा रहेका दिव्य लक्ष्मीले जीवनका आरोह र अवरोहहरू सँगाली नेपालको कृषि प्रविधि र माटो विज्ञान सम्बन्धी गरेका विश्लेषणहरू पढ्दै गर्दा उहाँका अनुभव र अनुभूतिहरूलाई समय सान्दर्भिक प्रयोग गर्दै जानुपर्ने देखिन्छ । समय थियो नेपालले कृषि आधुनिककरणमा केन्द्रितभई देश विकासको लक्ष्य हासिल गर्नु पर्छ भन्ने उद्देश्य सहित आएको तेस्रो पञ्चवर्षीय योजनाको, जब दिव्य लक्ष्मीले कृषि विभागको माटो विज्ञान शाखामा अधिकृतस्तरको माटो विज्ञका रूपमा प्रवेश गरे, २०२४ कार्तिकमा ।
जागिरमा प्रवेश गरिसकेपछि, उनले माटो विज्ञान शाखामा देशको नै पहिलो माटो जाँच्ने प्रयोगशाला स्थापना गरी माटो जाँच्ने काम को शुभारम्भ गरे भने पछिका दिनहरूमा,माटो परीक्षणको सेवा नेपालभर दिन, पाँचै विकास क्षेत्रहरूमा पनि माटो प्रयोगशालाको स्थापना गरे । परम्परागत कृषि प्रणालीमा आश्रित सो समय माटो प्रविधिलाई अनुसरण गरी त्यसलाई तल्लो तहसम्म कार्यान्वयनमा लानु भनेको चुनौतीपूर्ण काम थियो, जसको प्रतिफल स्वरूप नेपालको कृषिमा थोरै बहुत भएपनि विविधिकरण र आधुनिककरण देखिए ।
माटोको प्राविधिक पक्षको जाँच गरी त्यसको उर्वता कसरी बढाउन सकिन्छ भन्ने किटान गर्न सक्नु सो समय कृषिमा आश्रित नेपाललाई आफ्नो उत्पादन र उत्पादकत्व वृद्धि गरी आर्थिक विकास गर्ने एक सूत्रधार थियो । माटो प्रविधि अपनाएका कारण उर्वर शक्ति बढ्नु का साथै कृषिको उत्पादकत्व पनि माथि उकास्यो र उच्च मूल्यको बजार योग्य कृषि उत्पादनको खेती सहित कृषि विविधकरणमा पनि सघायो । कृषिमा प्राविधिक सहयोग तथा सहायता तल्लो तह सम्म प्रभावकारी रूपमा पुगेको छैन र यसलाई जति सक्दो चाँडो खेतमा काम गर्ने हरेक किसानको तह सम्म पुर्याउनुपर्छ भन्ने धारणा दिव्य लक्ष्मीको रहने गरेको थियो ।
माटोको अध्ययनको सिलसिलामा दिव्य लक्ष्मी नेपालका दूरदराजका ठाउँहरूको साथसाथै विभिन्न जिल्लाहरूमा पुगेका थिए । उनले नेपालका सबै जिल्लाको माटो परीक्षण गरेकी थिइन् र नेपालको माटोको एटलास तयार गरेकी थिइन् जुन सम्भवतः नेपाल कृषि अनुसन्धान परिषद् मा उपलब्ध छ। त्यसैगरी उनी संयुक्त राष्ट्रसङ्घको स्वयंसेवक भएर विभिन्न देशका माटो परीक्षण गर्न गएका थिए । बोत्सवाना र ओमानमा दुई दुई वर्ष बसेर माटो परीक्षण प्रयोगशाला स्थापना गरी माटो एटलास पनि बनाइदिएका थिए । आफ्नो माटो परीक्षणको अनुभवलाई सँगाल्दै , दिव्य लक्ष्मी यो मान्यता राख्नुहुन्थ्यो कि कृषिका प्राविधिक विज्ञ र प्राविधिक सहायकहरू केन्द्र र सदरमुकाममा मात्र तैनाथ भएर बस्ने होइन कि उनीहरू दुरदराजमा रहेका किसानहरूको खेत खेतमा गएर सहायता दिनु पर्छ जुन कुरा हालका दिनहरूमा पनि धेरै हदसम्म सान्दर्भिक देखिन्छ ।
दिव्य लक्ष्मीले किसान आफैले माटो परीक्षण गर्न सक्ने प्रविधिको पनि विकास गरी दिएको छ । उनले तयार गरेको माटो परीक्षण निर्देशिकालाई अनुसरण गरी किसान आफैंले माटो परीक्षण गर्न सक्छ । यसले गर्दा किसानहरूको प्रविधिमा पहुँच बढाउनुको साथै उनीहरूलाई आत्मनिर्भर हुन प्रेरित गरी तल्लो तहबाट नै कृषिमा रूपान्तरण ल्याउने र यसको
उत्पादन बढाउन धेरै सहयोग गरेको छ । तर विडम्बना यो छ कि सरकारले कृषकलाई चाहिने यस्ता प्रविधिहरूको प्रचारप्रसार र संरक्षण प्रवर्धनमा खासै ध्यान दिएको देखिँदैन । अहिले को व्यवस्था अनुसार, स्थानीय सरकारले स्थानीय स्तरको कृषि विकासमा महत्वपूर्ण भूमिका खेल्नुपर्छ तर धेरै जसो स्थानीय सरकारहरू किसानलाई चाहिने प्रविधि
विस्तारमा खासै ध्यान दिएको देखिँदैन ।
माटो विज्ञान शाखा बाहेक दिव्य लक्ष्मीले नेपाल कृषि अनुसन्धान परिषद् लगायत विभिन्न अन्य सरकारी निकायहरूमा काम गरी २०४९ सालमा अवकाश प्राप्त गरे । अवकाश पश्चात् उनले माटो परीक्षण प्रयोगशाला सहितको एग्रिकल्चरल टेक्नोलोजी सेन्टर भन्ने निजि स्तरको कृषि परामर्श कम्पनी खोले । कृषिको विभिन्न क्षेत्रहरुमा परामर्श दिने यस संस्थामा
उनी झन्डै तीन दशकभन्दा बढी आबद्ध रही माटोसम्बन्धी विभिन्न अध्ययन अनुसन्धानहरु गर्नुभएका थिए । एक हिसाबले भन्ने हो भने यस संस्थालाई उनको नै पर्यायको रुपमा चिन्ने गरिन्छ र कृषि सम्बन्धी काम गर्ने विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय निकायहरूले यस संस्था सँग परामर्श सहयोग लिने गरेका छन्। यस संस्थाले प्रदान गर्ने राम्रो सेवाका कारण एसिया बिजनेस आउटलुकले यस संस्थालाई सन् २०२२ को एसियामा टप टेन कृषि परामर्शदाताका रूपमा राखेको थियो । तर नेपाल जस्तो देशमा, जहाँ अनुसन्धानमा धेरै लगानी छैन, त्यहाँ निजी अनुसन्धान र परामर्श कम्पनीलाई टिकाउन धेरै गाह्रो छ, जुन यस संस्थाको हकमा पनि लागू हुन्छ। दिव्या लक्ष्मी रिटर्न युनाइटेड नेशन्स भोल्युन्टियर्स एसोसिएसन, नेपालकी पहिलो महिला अध्यक्ष पनि थिइन्। उनी विभिन्न पुरस्कारबाट सम्मानित भएकी थिइन्, अनुसन्धानमा आधारित लेखहरू लेखेकी थिइन्, र साहित्यमा पनि जोशिलो थिइन्।
दिव्य लक्ष्मीको जन्म काठमाडौँको ज्याठा र ठहिटी बीचमा अवस्थित झ्वाबहालमा बाबुआमाका जेष्ठ सुपुत्रीको रूपमा भएको थियो । उनका बुबा डा. पञ्चरत्न बज्राचार्य एक प्रसिद्ध कबिराज (आयुर्वेद चिकित्सक) थिए र राणा प्रधानमन्त्री मोहन शमशेरको निजी कबिराज (आयुर्वेद चिकित्सक) को रूपमा पनि काम गरेका थिए। डा. पञ्चरत्नले आयुर्वेद चिकित्साको अध्ययन भारतमा गरेका थिए भने स्वर्ण पदकसहित आयुर्वेद चिकित्सामा डाक्टर बने। वास्तवमा, दिव्य लक्ष्मीको परिवारको जडीबुटी औषधि र आयुर्वेदिक उपचारमा लामो विरासत थियो त्यसैले विगतका दिनहरूमा उनीहरूलाई धेरै सम्मान थियो। दिव्या लक्ष्मीकी आमा गंगा माया, राणा प्रशासनतन्त्रका एक महत्त्वपूर्ण व्यक्ति, हीरा मान गुभाजु, की छोरी हुन्। सरदार भीमबहादुर पाण्डेले हिरामान गुभाजुलाई राणा प्रशासनको प्रभावशाली व्यक्तित्व भनी “त्यो बेलाको नेपाल” भन्ने किताबमा उल्लेख गर्नुभएको छ । राणाकालीन सो समय महिला शिक्षा धेरै परको कुरा थियो तर दिव्य लक्ष्मीका आमा साधारण लेखपढ गर्न जान्थिन् र छोरीहरूलाई पनि शिक्षा दिक्षा दिनुपर्छ भन्ने मान्यता राख्थिन् । त्यसैले सुरुमा दिव्य लक्ष्मीलाई शान्ति निकुञ्ज विद्यालयमा भर्ना गरियो भने उनीले पद्मोदय विद्यालय बाट एसएलसी पास गरे । तर १२ वर्षको उमेरमा नै आमा परलोक भई जेठी छोरी भएको नाताले अभिभावकत्व ग्रहण गर्न परेकाले दिव्य लक्ष्मीले केही कठिन दिनहरु पनि देखे । उनले पटना विश्वविद्यालयबाट आइएस्सी सकाए भने बिएस्सी र रसायनशास्त्रमा स्नाकोत्तर त्रिभुवन विश्व विश्वविद्यालय बाट सकाए । जागिरे भइसकेपछि उनले संयुक्त राज्य अमेरिकाको नर्थ क्यारियोलिन विश्वविद्यालयबाट माटो अनुसन्धानमा डिप्लोमा गरे । निश्चय पनि देशको नै प्रमुख माटो विशेषज्ञ बन्ने शैक्षिक यात्रा कठिनै हुन्छ, त्यसमाथि नेपालजस्तो मुलुकमा महिलाको लागि झन् धेरै ।
यस्तो सरानीय साहस र आत्मबल भएका दिव्य लक्ष्मी आज हामीबीच छैनन् । उनले २०८२ साल माघ १७ गते ८७ वर्षको उमेरमा यस धर्तीलाई छोडेर जानु भयो । मृत्यु एक शाश्वत सत्य हो भने मान्छेलाई मृत्युपछि उसले गरेका काम र योगदानले चिनिन्छ । दिव्य लक्ष्मी हामीबीच भौतिक रुपमा नरहे पनि उनले गरेको काम र योगदानलाई हामी सधैँ सम्झिरहनेछौँ ।
प्राकृतिक विविधता भएको नेपालमा कृषि तथा वन पैदावार को ठूलो सम्भावता रहेको छ । नेपालले आफ्नो साधन तथा स्रोतको कृषिमा उचित परिचालन गरे आर्थिक विकासमा ठूलो टेवा पुग्ने देखिन्छ भने यसले देशलाई खाद्य सुरक्षामा पनि धेरै हदसम्म आत्मनिर्भर बनाउनेछ । तर देशमा समयसमयमा बल्झिराख्ने राजनीतिक अस्थिरताका कारण अधिकांश
नेपाली युवाहरू आफ्नो भविष्य उज्ज्वल नदेखी रोजगारको सिलसिलामा विदेशीन बाध्य भएका छन् । यसले गर्दा कृषि काम गर्ने जनशक्तिको अभाव भई कृषि जमिन बाँजो रही यसको उचित उपयोग गर्न सकेका छैनौँ । जसले गर्दा कृषि उत्पादन घट्न गई खाद्यमा परनिर्भरता बढाएको छ ।
हिमाल पहाड तथा तराईको भौगोलिक अवस्थालाई उपयुक्त हुने खालको सिँचाई प्रणाली विकास गरेर हरेक कृषियोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउनुपर्छ किनकि धेरै खेतहरूमा खेती गर्न नसक्नुको एउटा मुख्य कारण पानीको सुविधा नभएर पनि हो । त्यस्तै मलखाद देखि लिएर कृषिका लागि चाहिने उपकरणहरूको समयमै आपूर्ति व्यवस्था गर्न
जरुरी छ । नेपालमा मल अभाव एउटा मुख्य चुनौतीको विषय रहेको छ भने आधुनिक कृषि औजारको ग्रामीण इलाकामा धेरै प्रयोग भएको देखिँदैन ।
त्यस्तै प्राविधिक सहयोग को पनि ठूलो भूमिका रहन्छ । कृषि प्राविधिक, कृषि प्राविधिक सहायक, कृषि अर्थशास्त्री, कृषि बजार विज्ञ लगायत अनुसन्धान संस्थाहरूबाट कृषकहरूलाई चाहिने विभिन्न खालका प्राविधिक सहयोगहरू उपलब्ध गराउनु पर्दछ । सूचना प्रविधिको विकाससँगै अहिले विश्व स्मार्ट कृषि को युगमा छ र नेपालले पनि दिव्य लक्ष्मीले भनेजस्तै कृषि प्रविधि विकासमा समय सापेक्ष उचित कदमहरू नचलाउने हो भने हामी धेरै पछि पर्नेछौँ ।









