ललितपुर। पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले २६ औं फ्लोरा एक्स्पो २०८१ को आयोजना गर्ने भएको छ। ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत्र १ देखि ४ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा उक्त एक्स्पो आयोजना हुनेछ।

यस वर्ष पनि फ्लोरा एक्स्पोमा नर्सरी व्यवसायीहरूले उत्पादन गरेका गुणस्तरिय फूल तथा आलंकारिक बोटबिरुवाहरूको प्रतिस्पर्धा गराइनेछ। उत्कृष्ट स्टल, ल्याण्डस्केपिङ्ग, मौसमी फूल, आलंकारिक बिरुवा, फूल्ने बिरुवा, पुष्प सजावट तथा कट फ्लावर (गुलाब, जरबेरा, कार्नेशन) विधामा पुरस्कृत गरिनेछ। विजेताहरूलाई सिल्ड, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने मेलाका संयोजक रामबहादुर तामाङले जानकारी दिए ।

मेलामा सहभागी हुने नर्सरी वा फर्मले तीनवटा विधामा मात्र प्रतिस्पर्धा गर्न पाउनेछन्। साथै, पुष्प उत्पादक, थोक तथा खुद्रा व्यापारी, आयात-निर्यातकर्ता, सामग्री आपूर्तिकर्ता, तथा उपभोक्ताहरूको सक्रिय सहभागिता रहनेछ।

‘ २६ औं फ्लोरा एक्स्पो ’ ले पुष्प व्यवसायलाई थप व्यावसायिक रूपमा सशक्त बनाउन र वातावरणीय सचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।