ललितपुर। विषादी व्यवसायी संघ नेपालले कृषि बालीनालीमा प्रयोग हुने विषादीमा लाग्ने मूल्य अभिवृद्धि कर र अन्य वृद्धि गरिएको शुल्कको विरोधस्वरुप बन्द र विरोध कार्यक्रम आयोजना गरेको छ ।

नेपाल सरकारको तर्फवाट आर्थिक वर्ष ०८१/८२ का लागि प्रस्तुत वजेटमा कृषि बालीनालीमा प्रयोग हुने सम्पूर्ण विषादीहरूमा मूल्य अभिवृद्धि कर भ्याट लागु गरिएको र यसले किसानलाई मार पर्ने व्यवसायीको भनाइ छ । संघले प्रधानमन्त्री, अर्थमन्त्री, कृषिमन्त्रीलगायत विशिष्ट व्यक्तिहरूलाई भेटी कृषि बालीमा प्रयोग हुने विषादी लगायत कृषि वस्तुहरूमा लागेको मूल्य अभिवृद्धि कर भ्याट हटाउन आग्रह गर्दा सकारात्मक जवाफ पाए पनि २०८१ असार ११ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट जेठ १५ गते सरकारले प्रस्तुत गरेको बजेटलाई नै पास गरी किसानको हित विपरीत काम गरेको व्यवसायीको आरोप छ । साथै जीवनाशक विषादी ऐन २०७६ अन्तर्गत हालै मन्त्रीपरिषद् परिषद् बाट पास गरिएको जीवनाशक विषादी नियमावलीमा विषादी पञ्जिकरण शुल्कमा पाँचसय प्रतिशतदेखि एक हजार प्रतिशतसम्म प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले एकलौटी रुपमा निर्णय गरी शुल्क वृद्धि गर्ने कार्य गरेकाले व्यवसायी बाध्य भएर बिरोधका कार्यक्रम आयोजना गर्नुपरेको नेपाल बिषादी व्यवसायी संघ बागमती प्रदेशका सचिव सक्कल थापाले बताए ।

यो सम्पूर्ण रुपमा विषादी व्यवसायी लगायत नेपाली किसानहरू माथि ज्यादति थोपर्ने र कृषि पेसामा आबद्ध पेसालाई धरापमा पार्ने कार्यको विरोधमा उत्रिएको व्यवसायीको भनाइ छ ।

कृषि बालीनालीमा प्रयोग हुने विषादीलगायत कृषि वस्तुतुहरूमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) साथै विषादी पञ्जिकरण वृद्धिमा गरिएको शुल्क खारेज नभएसम्म आन्दोलन जारी रहने व्यवसायीको भनाइ छ । आज उनीहरूले देशभर संचालनमा रहेको ३ हजार भन्दा धेरै पसल बन्द गरेका छन् ।