दमौली। तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी निवासी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रापालनमा आबद्ध छिन । उनले गाउँबाटै बाख्रा बिक्री गरी मनग्य आम्दानी गरिरहेकी छन् ।
उनले भनिन्“ बाख्रापालन व्यवसायबाट वार्षिक रु सात लाखभन्दा बढी आम्दानी हुने गरेको छ । ” उनले यस वर्ष १५ बोयर जातका माउबाट उत्पादित खसीबोका बिक्री गरी उक्त रकम आम्दानी गरेकी छन् । उनले भनिन्, “बाख्रापालन व्यवसायबाट सन्तुष्ट छु, यही व्यवसायबाट घरपरिवार चल्दै आएको छ ।” उनले १५ रोपनी जग्गामा घाँसखेतीसमेत गरेकी छन् । बाख्रालाई घाँस आवश्यक पर्ने भएकाले मकै, कोदो रोप्ने बारीमा उन्नत जातका डाले तथा भुइँ घाँस लगाएको किसान आलेले बताईन् ।
उनका अनुसार बडहर, राइखनियो, इपिलइपिल, मेन्दोला, कुटमेरो, भटामासे, किम्बु, निमारोलगायतका डाले तथा नेप्पियर सिओफोर, सिओ थ्री, सुपर नेपियर, मलाटो, मकैचरीलगायतका भुइँ घाँस लगाइएको छ । उनले पछिल्लो समय रु. १२ लाखको लागतमा सुधारिएको खोर निर्माण गरी व्यवस्थितरूपमा बाख्रापालन व्यवसायलाई अगाडि बढाएकी छन्।
बाख्रा खोरमा गर्भवती बाख्रा, किशोरी बाख्रा, पाठापाठी, ब्याड बोका र सुत्केरी बाख्रा राख्ने छुट्टाछुट्टै कोठा निर्माण गरिएको छ । यसरी कोठामा बाख्रा राख्दा बाख्रा तुहिने समस्या नहुने र रोगबाट बचाउन सकिने उनको भनाइ छ । उनले उन्नत जातको बोयर बोकासमेत पालेकी छन् । बाख्रालाई चाहिने सुष्म पोषकतत्व खनिज ढिक्का बनाएर नियमित खुवाउने गरेको उनले बताईन् । नियमित खनिज ढिक्का खुवाउनाले बाख्रा फस्टाउनुका साथै खसीबोकाको तौलमा वृद्धि हुने उनको भनाइ छ ।
किसान आलेले नौ महिनादेखि एक वर्षको अवधिमा ४५ केजीभन्दा बढी तौलका खसीबोका उत्पादन गरी बिक्री गर्ने गरेको जानकारी दिईन् । उनका अनुसार ब्याडका रूपमा बिक्री गर्ने बोका जिउँदो प्रतिकेजी रु. एक हजारका दरले बिक्री हुँदै आएको छ । एउटै ब्याड बोका बिक्री गर्दा रु. ४० हजारसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । मासुका लागि जिउँदो तौलको प्रतिकेजी रु. पाँच सय ५० का दरले खसीबोका बिक्री भएको छ ।
रासस/फाइल फोटो