
वालिङ । पछिल्लो समय फोहरबाट मोहर बनाउने समाचारहरु सुन्न र पढ्न पाइन्छन् । यस्ता समाचारहरु चर्चामा आउनु भन्दा पनि फोहरको समुचित प्रयोग गरी उत्पादनसँग जोड्नसक्नुले महत्व राख्दछ ।
हाम्रो गाउँघरमा यसै फालिने र सडेर जाने बस्तु धेरै छन् । ती बस्तु फाल्दा वातावरण प्रदुशित हुनुका साथै विभिन्न रोग फैलिन सक्छ । त्यस्ता बस्तुहरुको उपयोग गरेर स्वरोजगारीसहित आय आर्जनमा जोडिन सकिन्छ भन्ने खोजी हुनु उपलव्धीमूलक कार्य हो । यसै शिलशिलामा स्याङ्जाको कालीगण्डकी गाउँपालिका फोहरबाट मोहर र पातबाट पैसा फलाउने अभियानमा जुटेको छ । यस अभियानमा केराको थामबाट धागो निकालेर विभिन्न सामग्री र साल, कटुसलगायतको पातबाट टपरी बनाउन सुरु गरिएको छ । प्राय गरेर केराको बोटबाट फल लिएपछि थाम यसै फालिन्छ । तर अब तपाईं हाम्रा केराका ती थामहरु फाल्न नपर्ने भएको छ । यसबाट सामान बनाएर पैसा कमाउन सकिने कामको सुरुवात कालीगण्डकी गाउँपालिकाले गरेको छ । योसँगै जिल्लामै नमूना कामको थालनी गर्ने पालिका बनेको छ ।विभिन्न मुलुकहरुले स्थानीय श्रोत र साधनको उपयोग गरेर धनि बनेका छन् । हामीले पनि त्यस्ता बस्तुको सदुपयोग गरेर आय आर्जनमा जुट्न सक्छौं भन्ने कालीगण्डकीको अभ्यासले सङ्केत गरेको छ । आर्थिक वर्ष २०७६/०७७ देखि केराखेतिको विस्तारमा जुटेको गाउँपालिकाले त्यही केराको थामबाट विभिन्न सामान बनाउन थालिएको छ । सुरुमा किसानहरुको मागको आधारमा केराको बिरुवा अनुदानमा वितरण गरिएको हो । रु.५ लाख बराबरको १२ हजार ५ सय केराका बिरुवा अनुदानमा उपलव्ध गराइएको गाउँपालिका कृषि शाखा प्रमुख हुमप्रसाद श्रेष्ठ बताउनुहुन्छ ।
कृषि शाखा प्रमुख श्रेष्ठका अनुसार २० भन्दा माथि बिरुवा लगाउने किसानहरु अहिले व्यावसायिकरुपमा लागेका छन् । एकघरीको फलबाट १ हजारदेखि १२ सय रुपैयाँसम्म पर्ने भएपछि किसानहरु उत्साही बन्न थाले । फलसँगै थामको उपयोग गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको कृषि शाखा प्रमुख श्रेष्ठ बताउनुहुन्छ । नवप्रवर्तन साझेदारी कोष कार्यक्रम अन्तर्गत स्थानीय कच्चा श्रोतको व्यापारिक उपयोगिता सम्बन्धी परियोेजना सञ्चालन गरिएको छ । यस अन्तर्गत पालिकाका ३२ जनालाई तालीम प्रदान गरिसकिएको छ । उनीहरुलाई १५÷१५ गरी तीन चरणमा ४५ दिनको तालीम प्रदान गरिएको हो । पहिलो चरणमा विना मेशिन धागो बनाउने र हस्तकला सम्बन्धी तालीम दिइएको थियो भने दोश्रो चरणमा मेशिनको प्रयोग सम्बन्धी सिकाई प्रदान गरिएको कृषि शाखा अधिकृत अनुप पौडेलले जानकारी दिनुभयो । यसैगरी तेश्रो चरणमा मेशिनबाट गलैंचा, कार्पेट तथा डोरमेट बनाउने तालीम दिइएको थियो ।
अहिले तिनै तालीम लिएकाहरुले केराको थामबाट आउने मचेटाबाट धागो निकालेर विभिन्न सामान बनाइएका छन् । यसबाट ढकिया, चप्पल, टिम्याट, डोरम्याट, ट्रे, व्याग, खादालगायतका सामग्री बनाइएको छ । धागो निकाल्ने मेशिन पालिकाले राखिदिएको छ । माग धेरै आउने गर्छ, बजारको कुनै समस्या छैन, कृषि अधिकृत पौडलले भन्नुभयो । यसैगरी थामको गुदीबाट जुस बनाइएको छ । यसबाट कव्जियत र किड्नीसँग सम्बन्धित रोगहरुबाट सुरक्षित रहन फाइदा पुग्ने ल्यावटेष्टबाट आएको सकारात्मक परिणामले देखाएको कृषि अधिकृत पौडलको भनाई छ । उहाँका अनुसार किसानहरुसँग भएका केराका थामहरु अब फाल्नु नपर्ने र पालिकाले लिइदिने छ । योसँगै नवप्रवर्तक कार्यक्रम अन्तर्गत गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा यो वर्र्ष २० हजार बिरुवा सत प्रतिशत अनुदानमा वितरण गर्ने गाउँपालिकाको कार्यक्रम छ ।
फोहरबाट मोहर र पातबाट पैसा फल्छ भन्ने गाउँले भनाइलाई अभ्यासमा ल्याइएको कृषि शाखा अधिकृत पौडैल बताउनुहुन्छ । पातबाट पैसा फलाउन दुना टपरी बनाउने मेशिन राखिएको छ । हामीले प्रयोग गर्दै आएका विभिन्न पातहरुबाट दुना टपरी बनाउन सुरु भैसकेको छ ।