जुम्ला। जुम्लाको सिञ्जा गाउँपालिकाको कृषि शाखाका प्रविधिक किसानको स्याउ बगैँचमा पुगेर बिरुवा काँटछाँटसम्बन्धी सीप सिकाउन लागिपरेका छन् । पालिका १ देखि ६ वडाका स्याउ किसानलाई एकदिने स्याउ विरुवा काँटछाँटसम्बन्धी घुम्ती तालिम दिएर बिरुवा काँटछाँटबारे सीप सिकाउन थालेको पालिकाको कृषि शाखाका प्रविधिक दलवीर वडले जानकारी दिनुभयो ।

यहाँका स्याउ किसानलाई प्रविधिक ज्ञान नहुँदा बिरुवा काँटछाँटमा समस्या हुने गरेको छ । कृषि प्रविधिक वडले भन्नुभयो, “किसानको बगैँचामा पुगेर बिरुवा व्यवस्थापनको प्रविधिक ज्ञानसमेत सिकाएका छौँ । पालिको कृषि शाखा यहाँका किसानको समस्यलाई हल गर्ने यो कार्यक्रम लागू गरेको हो ।” छवटै वडाका एक सय ५४ जना किसानलाई सो तालिम दिएर पठाएको कृषि प्रविधिक वडले बताउनुभयो ।

पालिकाभित्रका स्याउ बिरुवा भएका किसानलाई काँटछाँट गर्दा बाहिरबाट ल्याउने समस्यालाई अन्त्य गर्नका लागि कृषि शाखा र गाउँपालिकाको सहकार्यमा विभिन्न सीपमूलक तालिम दिएर यहाँका किसानलाई आत्मनिर्भर बनाइने कृषि प्रविधिक वडको भनाइ छ ।

कृषि शाखाको वार्षिक स्वीकृत वित्तीय समानीकरणतर्फको बजेटबाट पालिका सबै वडामा स्याउ बिरुवा काँटछाँटसम्बन्धी घुम्ती तालिम भएको प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिनुभयो । स्याउ बगैँचा भएका किसान समूह एवं सहकारीबाट छानिएर आएका व्यक्तिलाई सो तालिम दिएको छ । स्याउका बिरुवा काँटछाँट गर्ने किसानका बगैँचामा उनीहरुलाई पठाइने सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो ।

स्याउ बिरुवा नभएको व्यक्तिले पनि तालिमबाट सीप सिकेर आफ्नो वडा र पालिकाभित्र स्याउका बिरुवा काँटछाँट गर्नसक्ने उद्देश्यले तालिम लिएको स्थानीयवासी मुनबहादुर बुढाको भनाइ छ । तालिमबाट सिकेको ज्ञान व्यवहारमा लागू गरिने सिञ्जा–१ स्थानीयवासी पार्वती आचार्यले बताउनुभयो ।

सीपसँगै तालिममा सहभागी भएका किसानलाई स्याउका बिरुवा काँटछाँटमा प्रयोग हुने आरी, सिकेचर र अन्य सामग्री दिएको सिञ्जा गाउँपालिकाको कृषि विकास शाखाले जनाएको छ । यो याममा यहाँका किसानलाई स्याउ बगैँचा काँटछाँटमा भ्याइनभ्याइ भएको किसान बताउँछन् ।