दिपायल। बडीकेदार गाउँपालिका–५ धमिगाउँमा चिम्टे सिँचाइ कुलो निर्माण भएपछि किसान खुसी भएका छन् । वर्षौंदेखि गाउँमा सिँचाइ नहुँदा खेतीयोग्य जमिन बाँझै रहेकामा अहिले कुलोबाट पानी आउन थालेपछि यहाँका किसान खुसी भएका हुन् । सिंचाइको अभावमा आकाशे पानीको भरमा किसानले खेती गर्दै आएका थिए ।

धामिगाउँवासीले पहिलो पटक सुविधा पाएपछि सिँचाइको उपयोग गर्न थालेका छन् । गाउँपालिकाको आर्थिक सहयोगमा करिब एक सय २० मिटर लामो सिँचाइ कुलो निर्माण गरिएको स्थानीयवासी बमबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाबाट सिँचाइ कुलो निर्माण गर्न करिब रु दुई लाख लगानी भएको थियो ।
सिँचाइ कुलो निर्माण भएपछि करिब नौ सय रोपनी जमिनमा सिँचाइ सुविधा पुगेकाले उत्पादनसमेत वृद्धि हुने अर्का स्थानीयवासी पदम चिमालाले बताउनुभयो । यसबाट करिब दुई सय घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष हर्क नेपालीको भनाइ थियो ।

“वर्षैंदेखि बाँजो रहेको जमिनमा खेती लगाउन सहज हुने भएको छ, ” उहाँले भन्नुभयो, “यस क्षेत्रका किसानले थप बाध निर्माण र सिँचाइ कुलोलाई पक्की गराउन थप बजेटमाग गरेका छन्।” गाउँपालिकाले जनताका आवश्यक माग सम्बोधन गरिरहेको गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताउनुभयो । पालिकाबाट हरेका वडाका नागरिकको शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिँचाइ, कृषिलगायत क्षेत्रमा आवश्यक योजना बनाइने र सबै क्षेत्रका समस्या समधान गर्न स्थानीय सरकारको निर्माण भएको अध्यक्ष साउदले बताउनुभयो । पालिकाभित्र रहेको खेतीयोग्य जमिनमा किसानलाई अनुदान कार्यक्रममार्फत विभिन्न योजना बानई आत्मार्निभर बनाइने गाउँपालिकाले जनाएको छ । रासस