चौतारा। किसानको पशुधनको दृष्टिले राम्रो मानिने बीमा कार्यक्रम पछिल्लो समय सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिकामा प्रभावकारी बन्दै गइरहेको छ ।

नगर पशु सेवा शाखाबाट जारी सूचनाको आधारमा पशु बीमा कार्यक्रममा सहभागी भइ पशु बीमा गराइएका दुई किसानको भैँसी मरेपछि मूल्याङ्कन बराबरको बीमा रकम वडा नं. ७ निवासी ईश्वरीप्रसाद नेपाल र वडा नं. ४ निवासी मैया सापकोटाले जनही रु ९० हजार प्राप्त गर्नुभएको छ ।

नगरपालिकाको २०७९/८० को नीति तथा कार्यक्रम अन्र्तगत कृषि तथा पशु कार्यक्रममा विषेश जोड दिँदै आएको पालिकाले पशु बीमा कार्यक्रममा कूल बिमाङ्कको सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानबाहेक नगरपालिकाबाट ५० प्रतिशत र कृषकबाट ५० प्रतिशत रकमबाट बीमा कार्यक्रम सञ्चालन हँुदै आइरहेको छ । बीमा रकम हस्तातरण गर्दै नगरप्रमुख कृष्णप्रसाद सापकोटाले यसबाट कृषकलाई प्रत्यक्ष रुपमा आर्थिक लाभ हुनेछ भन्नुभयो ।

सुरुमा झन्झटिलो प्रक्रियामा नगर पशुशाखाले सहजीकरणको भूमिका निर्वाह गरेपछि कृषक खुसी भएको शाखा प्रमुख अर्जुन खड्काले जानकारी दिनुभयो । हाल नगरपालिकामार्फत विसं २०७९ पुस मसान्तसम्म तीन सय ८० गाईभैँसी र २० बाख्राको बीमा भइसकेको छ । दुई सय प्रक्रियामा रहेको पशु शाखाले जनाएको छ ।