जुम्ला। जुम्लामा पछिल्लो समयमा कागुनोको माग बढ्न थालेको छ । यहाँका आठवटै स्थानीय तहमा उत्पादन हुने रैथाने बालीमध्ये कागुनो पनि हो । जिल्लाका किसानले विस्तारै सो खेती गर्न छाडेको तिला गाउँपालिका किसान बिमला नेपालीले बताउनुभयो ।

कागुनोको उत्पादन कम भए पनि माग बढेको जुम्ला सदरमुकाम खलङ्गामा रहेको रारालिही अर्ग्यानिक पसलका सञ्चालक अर्जुन बुढाले बताउनुभयो । किसानले ल्याएको कागुनोको चामल अत्यधिक बिक्री हुने गरेको छ । कागुनोको चामलको माग पूरा गर्न नसकिएको यहाँका अर्ग्यानिक पसलका सञ्चालक बताउँछन् ।

“गतवर्ष पनि माग राम्रपनि माग हुने गरेको थियो तर यो वर्ष व्यवसायीहरु किसानका घरमै पुगेर खरिद गरी बिक्री गरिरहेका छन्”, उहाँले भन्नुभयो । कर्णाली राजमार्ग हुँदै रारा घुम्न आउने पर्यटकले कागुनोको चामल खोजीखोजी लिने गरेको चन्दननाथ अर्गानिक पसलका कर्मचारी लक्ष्मी कुमाइले बताउनुभयो । विदेशी पर्यटकले समेत कागुनोको चामल लैजाने गरेका छन् ।

चन्दननाथ बहुद्देश्यीय सहकारी संस्थाका प्रबन्धक ऋषिराम पाण्डेले भन्नुभयो, “कागुनो कुट्ने मेसिन उपलब्ध नहुँदा किसानले समस्या हुने गरेको छ । बाहिरी जिल्लाबाट आन्तरिक पर्यटनको प्रमुख रोजाइँ कागुनो चामल छ ।” कागुनोको भात, यसलाई पिसेर पिठो बनाइ रोटी तथा ढिँडो बनाइ खान मिल्ने चन्दनाथ सहकारीका प्रबन्धक पाण्डेले जानकारी दिनुभयो ।

कागुनो समुद्री सहतदेखि दुई हजार मिटरमाथिको उचाइसम्म उत्पादन हुन्छ । उन्नत जातको कागुनोको विकास गर्न स्थानीय कागुनोका जातहरु सङ्कलन गरी उत्कृष्ट जातको पहिचान गर्न अनुसन्धान भइरहेको कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले जनाएको छ । कागुनो प्रायः फागुनमा मकैसँगै छरिने र छिटो पाक्ने अन्नमा पर्छ ।

जुम्लामा १५ हेक्टरमा कागुनो खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो । जिल्लाका स्थानीय तहले पनि कागुनो खेतीलाई संरक्षण गर्नेका लागि कुनै कार्यक्रम लागू नगरेको यहाँका किसान बताउँछन् ।रासस