चन्द्रौटा। कपिलवस्तु व्यापार सङ्घले आयोजना गरेको सातौँ चन्द्रौटा महोत्सवमा कृषि सामग्री प्रदर्शन गर्ने २४ कृषक पुरस्कृत भएका छन् । शिवराज नगरपालिका कृषि विकास शाखाले जारी गरेको सूचनाबमोजिम कृषकले उत्पादन गरेका सामग्री महोत्सवमा प्रदर्शनसहित प्रतिस्पर्धा गराइएको थियो ।

खाद्यान्न, दलहन, तेलहन, फलफूल, तरकारी, प्रविधि, मत्स्य समूह गरी सातवटा विधामा उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारचन्द्र चौधरीले बताए । कृषकले उत्पादन गरेको सामग्रीलाई प्रतिस्पर्धा गराइ उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गर्दा हौसला बढ्ने नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारूले बताइन् ।

महोत्सवले कृषि क्षेत्रको विकासमा टेवा पुर्‍याउने भएकाले कृषि महोत्सवमा कृषकको सहभागिता हुनुपर्नेमा जोड दिँदै उनले कृषकबीचको प्रतिस्पर्धाले आगामी दिनमा कृषि उत्पादनमा थप वृद्धि हुने जिकिर गरिन् ।

महोत्सव मूल आयोजक समितिका संयोजक महादेव पोख्रेलले कृषिमा आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिनुपर्ने बताए । प्रथम हुने कृषकलाई रु दुई हजार, द्वितीयलाई रु एक हजार पाँच सय र तृतीयलाई रु एक हजार पुरस्कार उपप्रमुख थारूले प्रदान गरिन् । रासस