
बेनी। देशका विभिन्न स्थानमा बंगुरमा देखापरेको ‘अफ्रिकन स्वाइन फिभर’को संक्रमणका कारण म्याग्दीमा समेत बंगुर मर्न थालेका छन् । सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा पालिएको बंगुरमा संक्रमण देखिएपछि हालसम्म तीन सयभन्दा बढी बंगुर मरेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीले जनाएको छ ।
व्यावसायिकरूपमै फार्ममा पालिएका बंगुर मर्न थालेपछि विज्ञ केन्द्रको टोलीले गरेको अनुगमन तथा केही फार्मबाट लिइएको नमूनामा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले जानकारी दिए ।
पहिलोपटक पोखराबाट ल्याइएको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको बंगुर फार्ममा गरिएको बंगुरमा पशुपक्षी अन्वेषण परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभरको पुष्टि भएको थियो । यहाँका ४० भन्दा बढी बंगुर मरेपछि केन्द्र र गाउँपालिकाको पशु सेवा शाखासहितको टोलीले अनुगमन गरेको थियो । बंगुर फार्मबाट लैजाने मासु पसलसहित जोखिमपूर्ण मानिएका स्थानमा उच्च निगरानी राखिएको छ ।
केन्द्रका प्रमुख आचार्यले अफ्रिकन स्वाइन फिभरले मान्छेमा कुनै असर भने नगर्ने बताए । बंगुर प्रजातिमा मात्र देखिने यो रोगको कुनै उपचार नरहेको पशु चिकित्सकले बताएका छन् । यो रोगको पूर्ण उपचार नभए पनि छ–छ महिनामा बंगुरलाई खोप लगाएर न्यूनीकरण गर्न सकिने केन्द्रका प्रमुख आचार्यको भनाइ छ ।
बेनी नगरपालिका–७ मङ्गलाघाटमा साढे दुई सय बंगुर मरेको अवस्थामा भेटिएको बेनी नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ । अहिले रोकथाम र नियन्त्रणका विधि प्रयोगमा केन्द्रित भएको पशु प्राविधिक प्रदीप गौतमले बताए । यो फार्मबाट अन्यत्र पनि संक्रमण फैलिएको हुनसक्छ भनेर केही ठाउँमा परीक्षण गरिएको उनले जानकारी दिए । पशु सेवा शाखाका अनुसार रनबहादुर बुढाथोकीको ४२, श्यामकुमार गोतामेको ४०, बिना गोतामेको पाँच, टकबहादुर बुढाथोकीको ६५, टीका रोकाको २६ र पूर्वराज घर्तीको सातवटा बंगुर मरेको विवरण सङ्कलन भएको छ ।
समयमै नियन्त्रणमा सतर्कता नअपनाए यो रोगबाट म्याग्दीमा करोडौँको क्षति हुने व्यवसायीको भनाइ छ । जिल्लाभित्र बंगुरपालन गर्ने क्षेत्रमा रोगको नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बंगुरपालक कृषकको भनाइ छ । पछिल्लो समय अधिकांश क्षेत्रमा संक्रमण देखिएकाले रोगको शंका लागेका पशुलाई बथानबाट अलग्गै राखी समयमै जानकारी दिन र मरेको जनावरलाई खाडलमा पुर्ने, होटल तथा रेस्टुरेन्टबाट निस्केको मासु वा मासुजन्य खाद्य पदार्थबाट टाढा राख्नुपर्ने भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले अनुरोध गरेको छ । रासस