
बलेवा। हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाले ओखर खेती प्रवर्द्धन थालेको छ । आर्थिक उपार्जन गर्ने मुख्य क्षेत्र कृषिलाई बनाएको उक्त गाउँपालिकाले ओखर खेतीको सम्भावनालाई आत्मसात् गर्दै किसानका लागि प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो ।
कृषि उत्पादनका आधारमा ‘एक वडा, एक कृषि उपज हब’ बनाउने नीति ल्याएको गाउँपालिकाले ओखर खेतीलाई पनि प्राथमिकतामा राखेको हो । किसानका लागि उत्पादन लागत कम पर्ने, बजारीकरणको समस्या नरहेको र एकपटक लगाएपछि वर्षौँ उत्पादन लिन सकिने भएकाले ओखर खेतीलाई प्राथमिकता दिइएकोे गाउँपालिका अध्यक्ष प्रदीप गौचनले बताए ।
आगामी आर्थिक वर्षमा ओखर खेतीमा लाग्ने किसानका लागि बिरुवा, प्रविधि र संरक्षण तथा सिँचाइका लागि आवश्यक कार्यक्रम तय गरिएको उनले जानकारी गराए । मागका आधारमा किसानलाई अनुदानसमेत उपलब्ध गराउने नीति गाउँपालिकाले लिएको छ ।
मुस्ताङमा उत्पादन भएको ओखर देशका ठूला सहरमा रू. ५०० देखि एक हजार किलोसम्ममा बिक्री हुने गरेको छ । अहिले थासाङमा उत्पादन भइरहेको ओखर खोज्न व्यापारी बगानमा पुग्ने गरेका छन् । ओखरमा दाना नलाग्दै मोलमोलाइ हुने गरेकाले गाउँपालिकाले किसानलाई ओखर बालीसँगै आयआर्जनमा जोड्नका लागि ओखर खेती प्रवर्द्धन गर्ने कार्यक्रम ल्याएको हो । हावापानीका हिसाबले थासाङका अधिकांश वडामा ओखरको खेती राम्रो हुने गरेको छ ।
उक्त गाउँपालिकामा उत्पादन भएका स्याउ, आलु, ओखर तथा अन्य तरकारी बाली विदेशमा समेत निर्यात हुने गरेको छ । यहाँको कृषि क्षेत्रलाई आधुनिकीकरण गरेर आगामी वर्ष खेतीयोग्य जमीनमा तारबारदेखि बाँझो जमीनमा खेती लगाउन शुरुआत गरिने अध्यक्ष गौचनले बताए । गाउँपालिकाले फलफूल र तरकारीका अतिरिक्त पशुपालनलाई पनि प्राथमिकतामा राखेर प्रवर्द्धनका कार्यक्रम ल्याएको छ ।
गाउँपालिकाभित्र बालीनालीमा विषादी र रासायनिक मलको प्रयोगलाई क्रमशः न्यून गर्ने नीतिसमेत गाउँपालिकाले ल्याएको छ । बजारमा प्रांगारिक उत्पादनको माग बढिरहेकाले स्याउ, आलु, सिमी, ओखर र अन्य तरकारी बालीमा प्रांगारिक मल तथा परम्परागत घरायसी कीटनाशक औषधिको प्रयोगलाई प्रोत्साहन गर्न लागिएको उनको भनाइ थियो । रासस