
पर्वत। भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा डिस्पेन्सरी र प्रयोगशाला भवन निर्माण सुरु भएको छ ।
गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा डिस्पेन्सरी र प्रयोगशाला भवन निर्माण गर्न थालिएको हो ।
भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको प्रांगणमा उक्त भवन निर्माण हुनेछ । पशुपन्छीको उपचार, कृत्रिम गर्भाधान, बन्ध्याकरणलगायतका कार्य गर्न तथा अन्य अनुसन्धानमूलक कार्य गर्न भवन निर्माण गर्न लागिएको हो ।
विसं २०७९ मसान्तसम्म भवन निर्माणको काम सक्ने लक्ष्य लिइएको विज्ञ केन्द्र प्रमुख रामजीप्रसाद शर्माले जानकारी दिए । भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले बिहीबार भवनको शिलान्यास गरेका छन् ।
कार्यक्रममा मन्त्री बुढाले कृषि र पशुपालनलाई व्यावसायिक बनाउने तथा गरिबी निवारणका लागि नयाँ योजनाका साथ प्रदेश सरकार अगाडि बढेको बताए । प्रदेशका ११ जिल्लामा विशेषताअनुसार कृषि र पशुपालनको प्रवर्धन तथा विकास गर्ने खालका नयाँ कार्यक्रम ल्याउन गृहकार्य भइरहेको उनले जानकारी दिए ।रासस