हुम्ला। खाद्यान्न आपूर्तिमा ढिलाइ हुँदा हुम्लाका खाद्य डिपोहरू रित्तिएका छन् । हुम्लाको सर्केगार्ड, श्रीनगर, ताजाकोट चंगेली, याङचु र याल्वाङमा पनि चामल छैन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेका ग्रामीण क्षेत्रका खाद्य डिपोहरूमा चामल नहुँदा स्थानीयवासीलाई महँगोमा चामल किन्नुपर्ने बाध्यता भएको छ । गाउँका खाद्य डिपो खाली भएपछि बजारको महँगो चामल खरीद गरी उपभोग गर्नुपरेको स्थानीयवासीको भनाइ छ ।

लिमिटेड शाखा कार्यालय हुम्लाले हिन्दूहरुको महान पर्व दसैं तिहारको अवसरमा खाद्यान्न विक्री वितरण गरेपछि ती खाद्य डिपोहरू रित्तिएका हुन् । चालू आर्थिक वर्षको पाँच महिना बित्न लाग्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न ढुवानी कार्य शुरु हुन सकेको छैन ।

लिमिटेडको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार चालू आर्थिक वर्षका लागि हवाई तथा पैदल मार्गबाट ढुवानी हुने गरी २१ हजार ५०० क्विन्टल खाद्यान्न कोटा निर्धारण भएको थियो ।

हवाई मार्गबाट ढुवानीका लागि सीता एयरलाइन्सले टेन्डर स्वीकार गरेको छ । हिमपातका कारणले खाद्यान्न ढुवानी गर्न नसकिएको बताइएको छ । चालू आर्थिक वर्षका लागि हुम्लामा २१ हजार ५०० क्विन्टल खाद्यान्न कोटा निर्धारण गरिएको भएपनि हालसम्म एक हजार क्विन्टल चामल मात्र प्राप्त भएको लिमिटेडको हुम्ला शाखा प्रमुख अधिकारीको भनाइ छ ।

खाद्य गोदाममा आएको उक्त चामल मृतकका परिवार वा सुत्केरीलाई आपत्विपत् तथा चाडपर्वमा वितरण गरेर बाँकी रहेका चामल विभिन्न पार्टीको अधिवेशनले गर्दा सकिएकोे थियो ।

हवाई मार्गबाट नेपालगञ्जदेखि चार हजार क्विन्टल र सुर्खेतदेखि ६ हजार क्विन्टल चामल ढुवानी हुनुपर्नेमा ढुवानी नभएकाले पैदल मार्गबाट श्रीनगर डिपो सर्केगाड डिपोमा आउनु पर्ने चामलसमेत आएका छैनन् ।

उक्त डिपोमा खच्चरबाट आउने खाद्यान्न यस वर्षको हिमपातले गर्दा ढुवानी गर्न नसिकएको बताइएको छ । हुम्ली जनता खाद्यान्न नपाउँदा भोकमारीको चपेटामा परेका छन् । जुनसुकै सरकार आए पनि हुम्लामा खाद्यान्नको अभाव हुने गर्छ । रासस