
नवलपरासी। (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिकाका व्यावसायिक कृषकलाई अनुदानमा घाँस काट्ने उपकरण (च्यापकटर) वितरण गरिएको छ ।
नगरपालिकाको १० नम्बर वडा कार्यालयले व्यावसायिक कृषकलाई ८० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरेकोे हो । करिब ७५ कृषकलाई १५ लाख बराबरको च्यापकटर अनुदानमा वितरण गरिएको वडाध्यक्ष देवीभक्त कँडेलले जानकारी दिए । कृषिउपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले वडा कार्यालयले कृषकलाई अनुदानमा उक्त औजार वितरण गरिएको उनको भनाइ थियो ।
वडामा नौ सदस्यीय कृषि तथा पशुपन्छी सामग्री उपभोक्ता समिति गठन गरेर वडाले व्यावसायिक पशुपालन फर्म सञ्चालन गरेका ७५ कृषकलाई च्यापकटर वितरण गरेको थियो । कृषकलाई केही मात्रामा भए पनि काममा सहजता हुनुका साथै दुग्ध उत्पादन पनि राम्रो हुने भएकाले कृषकको मागमा आधारित कृषि उपकरण वितरण गरिएको वडाध्यक्ष कँडेलले बताए ।
नगरप्रमुख छत्रराज पौडेलले कृषिलाई यान्त्रिकीकरण गर्ने नगरपालिकाको उद्देश्यअनुरूप उपकरण वितरण गरिएको बताए । हामीले कृषिलाई यान्त्रिकीकरण गर्ने उद्देश्यसहित प्रदेश र संघीय सरकारसँग सहकार्य गर्दै कृषकलाई कृषिमा अनुदानहरू दिइरहेका छौुं उनले भने, व्यावसायिक पशुपालनसहित कृषि क्षेत्रमा जिल्लामा नै यस नगरपालिकाले अग्रणी स्थान ओगटेका कारण पनि हामीले यान्त्रिकीकरणमा जोड दिएका हौं ।
वडा कार्यालयले विनियोजन गरेको १० लाख तथा नगरपालिकाको नगरसभाबाट पारित ५ लाख गरी जम्मा १५ लाखको लागतमा अनुदानमा ७५ उक्त उपकरण खरिद गरिएको थियो । रासस