बारा। बाराका किसानले २०७८/७९ मा खेती गरेको भदैया धानप्रति हेक्टर ४.६ मेट्रिकटनका दरले उत्पादन हुनुपर्नेमा बेसौमी वर्षाका कारणले प्रतिहेक्टर ४.३ मेट्रिक टनले उत्पादन भएको छ ।

किसानले चालू आर्थिक वर्ष २०७८/७९ मा विभिन्न जातको भदैया धान ११ हजार ९०१ हेक्टर क्षेत्रफलमा खेतीगरी प्रतिहेक्टर ४.३ मेट्रिकटनले कुल ५१ हजार १९१ मेट्रिकटन धान उत्पादन भएको ज्ञान केन्द्रका प्राविधिक गेनालाल मण्डलले बताए ।

साथै बेमौसमी वर्षाको कारण प्रतिहेक्टर दशमलव तीन मेट्रिक टनले ३ हजार ५७१ दशमलव पाँच मेट्रिकटन धान उत्पादनमा क्षति भएको उनले जानकारी दिए । यसवर्ष मोटो धान प्रतिक्विन्टल २ हजार ७ सय सम्बन्धित निकायले दर भाउ कायम गरेको छ ।

गतवर्ष २०७७/७८ मा किसानले विभिन्न जातको भदैया धान ११ हजार ९ सय ३१ हेक्टर क्षेत्रफलमा खेतीगरी प्रति हेक्टर ४.६ मेट्रिक टनले कुल ५४ हजार ८८२.६ मेट्रिकटन धान उत्पादन भएको थियो ।