गोरखा। कृषि ज्ञानकेन्द्र गोरखा कार्यालयको नाममा गोरखा नगरपालिका–७ मान्द्रे ढुङगामा रहेको करिब २२ रोपनी जमिनमा नमूना ग्रीन हाउस निर्माण गरिने भएको छ ।

कार्यालयले केन्द्रको नाममा रहेको सम्पत्तिको खोजी गर्दै जाँदा लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको जग्गा फेला परेपछि त्यसको संरक्षण र उपयोगका लागि नमूना ग्रिन हाउस, माछा पोखरी, च्याउ घर निर्माण गर्न लागेको कार्यालयका प्रमुख परशुराम अधिकारीले जानकारी दिए ।

कार्यालयको नाममा भएको उक्त जग्गामा दुई भवन रहेको भए पनि गएको करिब ३५ वर्षदेखि उक्त जमिन र घर उपयोगविहीन हुँदै आएको कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए ।

“टिनको छाना भएका तीन/तीन कोठे दुई भवन रहेछ, दुवै भवन जीर्ण अवस्थामा रहेको पाइयो,भवनको मर्मत सम्हार गर्ने र कार्यालयको नाममा रहेको जमिनलाई तारजाली गरी संरक्षण गर्न बजेट समेत प्राप्त भएको छ”, उनले भने ।

गण्डकी प्रदेश सरकारबाट भवन संरक्षणलगायतका कामका लागि चालू आर्थिक वर्षमा रु. ५० लाख रकम प्राप्त भएको छ ।

प्रदेश सरकारले कृषिज्ञान केन्द्रको स्रोत केन्द्र संरचनात्मक सुधार कार्यका लागि रु. १० लाख विनियोजन गरेको छ भने उक्त नमूना ग्रीन हाउस निर्माणका लागि चालू आर्थिक वर्षमा रु. पाँच लाख विनियोजन गरेको प्रमुख अधिकारीले जानकारी दिए ।

विनियोजित कार्यक्रमबाट उक्त जमिनमा तारजाली लगाउने, जीर्ण भवन मर्मत गर्ने, पानी पोखरी निर्माण गर्ने नमूना ग्रिन हाउस निर्माण गर्नेलगायतको योजना रहेको छ ।

त्यस्तै प्लाष्टिकको घर निर्माण गरी तरकारीखेती, नर्सरी निर्माण गरी बेर्ना उत्पादन गर्नेलगायतका योजनासमेत कार्यालयको रहेको कार्यालयले जनाएको छ । पानी पोखरी निर्माण गरी लिफ्टिङ गरी पोखरीको पानीको व्यवस्था गरिनेछ ।

उनले भने, “३०-४० गोलासहितको घार राखेर मौरीपालन गर्ने योजना छ।” पहाडी खाद्यान्न आयोजनाले करिब २०४३ सालतिर कार्यालयको उक्त जमिनमा भवन निर्माण गरे पनि भवन प्रयोगमा नआउदा जीर्ण अवस्थामा पुगेको छ । रासस