धादिङ। जिल्लाका चार डेरी उद्योगमा अनुगमन गरी कारवाही समेत गरिइएको छ । जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयले संयुक्तरुपमा आज विभिन्न चार डेरीको अनुगमन गरी कारबाही गर्दा रु. ४५ हजार राजस्व सङ्कलन समेत भएको छ ।
अनुगमन टोलीले पशुपति डेरीलाई रु. १० हजार, एन के डेरीलाई रु. १५ महांकाल डेरीलाई रु. १० हजार र खनाल डेरीलाई १५ हजार जरिवाना गराइएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार ती उद्योगका उत्पादनस्थलमा म्याद गुज्रिएका सामग्री फेला परेको, उत्पादन तथा प्रशोधन स्थल फोहोर भएको, कामदारले कोभिड–१९ को स्वास्थ्य तथा सुरक्षा मापदण्ड पुरा नगरेको र उद्योग सञ्चालन भएको लामो समयसम्म पनि अनुमतिपत्र नलिएको भेटिएको थियो ।
त्रिशुलीमा ट्रक खसेर बेपत्ता :
पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकास्थित चरौँदी ज्यामिरे घाटबाट मालबाहक ट्रक त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ३ ख ८०७४ नम्वरको ट्रक सो नदीमा आज विहान खस्दा चालक पनि बेपत्ता रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । अहिले नदीको बहाब उच्च रहेको छ ।
चालक बाहेक ट्रकमा अन्य को को थिए भन्ने यकीन नभएको र खोजी जारी रहेको बताइएको छ । वीरगञ्जबाट काठमाडौंका लागि छुटेका तीन ट्रकमध्ये एउटा सम्पर्कमा नआएपछि खोजी गर्दा दुर्घटनामा परेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए । रासस