ताप्लेजुङ। ताप्लेजुङ जिल्लामा पछिल्लो समयमा युवापुस्ताको व्यावसायिक कफी खेतीतिर आकर्षण बढ्दै गएको छ । कफी खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले विस्तारै यसको खेतीतिर आकर्षण बढ्दै गएको हो ।

पछिल्लो समय कफीको बजार माग बढ्दै गएसँगै यसबाट राम्रो आम्दानीको सम्भावना देखेपछि किसानले व्यावसायिकरूपमै खेती शुरु गरेका हुन् ।

हाल आठराई त्रिवेणी गाउँपालिका–३ हाङ्पाङ र वडा नं ५ चाँगे तथा मैवाखोला गाउँपालिका–१ ढुंगेसाँघुका किसानले व्यावसायिकरूपमा कफी खेती शुरु गरेका छन् ।

शुरुमा परीक्षण गर्दा नै कफी राम्ररी फस्टाएको र कफीका लागि उपयुक्त हावापानी र जमीन रहेको पाइएपछि स्थानीय किसानले व्यावसायिक खेती शुरु गरेको बताइएको छ । किसानका अनुसार अहिले धमाधम कफी खेती विस्तार हुन थालेको छ ।

ढुंगेसाँघुका किसान चन्द्र तामाङले हाल व्यावसायिक कफी खेती शुरु गरेका छन् । चार वर्ष अघिदेखि कफीको बिरुवा रोप्न शुरु गरेर अहिलेसम्म करीब ४० रोपनी क्षेत्रफलमा खेती विस्तार गरेको तामाङले बताए ।

उक्त क्षेत्रफलमा एकहजार ५०० बिरुवा रोपेको र शुरुशुरुमा रोपेको बोटमा फल लाग्न थालेको उनले बताए । उनले यसवर्ष चारहजार किलोग्रामसम्म कफी उत्पादन हुने बताए ।

ढुंगेसाँघुकै अर्का किसान ध्रुव वनेमले कफीको व्यावसायिक खेती शुरु गरेका छन् । वनेमले १५० रोपनीभन्दा बढी क्षेत्रफलमा करीब दुई हजार ५०० बिरुवा लगाएका छन् । उनको खेतीबाट पनि उत्पादन हुन थालेको र दुई हजार ५०० किलोग्रामसम्म उत्पादन हुने अनुमान लगाएको उनको भनाइ छ । तामाङ र वनेमसहित ढुंगेसाँघुका ६ जना किसानले व्यावसायिक कफी खेती शुरु गरेका छन् ।

यस्तै आठराई त्रिवेणी–३ हाङ्पाङका किसान लक्ष्मीप्रसाद पोखरेलले पनि आफूले लगाएको कफी खेतीबाट उत्पादन हुन थालेको जानकारी दिए । सोही गाउँपालिकाको वडा नं ५ चाँगेका स्थानीय किसान घनु गौतमले पनि व्यावसायिक कफी खेती गरेका छन् । यसरी हाङ्पाङ र चाँगेमा दर्जनौँ किसानले व्यावसायिकरूपमा कफी खेती शुरु गरेको बताइएको छ ।

यता कफी खेतीबाट आम्दानी पनि हुन थालेको किसानले बताएका छन् । उत्पादित कफी अहिले प्रतिकिलोग्राम रू. ८० ले विक्री गर्दै आएको किसानको भनाइ छ ।

प्रशोधन गरेको कफी भने प्रतिकिलो रू. ७०० का दरले विक्री हुने हुँदा किसान आफैँले गाउँमै कफी प्रशोधन गर्ने व्यवस्थाका लागि जुट्दै आएको पनि बताएका छन् ।

हाल व्यावसायिक खेती शुरु भएको क्षेत्र ढुंगेसाँघु, चाँगे र हाङ्पाङबाट करीब १० हजार किलोग्रामसम्म कफी उत्पादन हुन थालेको ढुंगेसाँघुका किसान तामाङले जानकारी दिए । रासस