वालिङ। आँट र जाँगर हुने हो भने घर गाउँमै पशुपालन गरेर महिनामा लाखौं कमाउन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ स्याङ्जाको गल्याङ २ इलुङ्गाकी टीका कुमारी राना । श्रीमान विदेश गएका कतिपय महिलाहरु शहर केन्द्रित हुने र विलासी जीवनमा रमाउने गरिरहेका छन् भने टीकाकुमारीले २०७७ मंसिरदेखि गाउँमै गाइपालन व्यवसाय गरेर खुशीले रमाउनुभएको छ । अरुको कमाइमा एकछिन रमायो, केहि समयपछि समस्याले गाँजेर टाउको समाउन भन्दा पेशा गरेर आय आर्जनमा जुट्नसके सधैंका लागि खुशी हुन सकिन्छ भन्ने टीकाकुमारीको विश्वास छ ।
यतिबेला टीकाकुमारीको फर्ममा ५ वटा गाई र एक वटा स्थानीय जातको भैंसी छन् । संख्याका हिसावले त्यति धेरै अवस्य होइन तर राम्रोसँग पालन पोषण गर्ने हो भने थोरैबाट पनि धेरै उत्पादन लिन सकिन्छ भन्ने नमूना बनेको छ टीकाकुमारीको हर्षित पशुफर्म । त्यसैले त यति छोंटो समयमै पनि टीकाकुमारीको फर्म हेर्न टाढा टाढादेखि आउने गर्दछन् । दैनिक १ सय उनान्तीस लिटर दूधबाट टीका कुमारीले मासिक दुइ लाख भन्दा बढी कमाउनुहुन्छ ।
पहिला त श्रीमानले नगर, दुःख हुन्छ, बालबच्चा सानै छन्, उनिहरुको पढाइ लेखाई र आमाको हेरचाह गरेर बस भन्नुहुन्थ्यो । उहाँले त्यसो भन्दैमा मेरो मनले मानेन, किनकि उहाँ हाम्रो सुखका लागि विदेशको चर्को घाममा खटिनुभएको छ भने म यहाँ यसै खाली बस्नुहुँदैन केहि गर्नुपर्छ भनेर गाईपालन गर्न लागेको टीकाकुमारीले सुनाउनुभयो ।
गाईपाल्न थालेदेखि ठीक गरेंछु भन्ने लागेको छ, किनभने दूध विक्रि गरेर राम्रो आम्दानी लिन सकेको छु । गाउँमा बसेर पशुपालनमा लगानी गरेर के हुन्छ र यो बौलाउन थालीसम्म भन्ने छिमेकीहरु पनि अहिले लोभिएको देख्दा टीकाकुमारी खुशी हुनुहुन्छ । साना किसान कृषि सहकारीले सञ्चालन गरेको दूध डेरीले खरिद गरिदिने भएपछि विक्रिको लागि कुनै समस्या छैन । दूध उत्पादक किसानहरुका लागि नगरपालिकाले दिने गरेको प्रति लिटर १५ रुपयाँले पनि टीकाकुमारीले महिनामा झण्डै साठी हजार पाउनुहुन्छ भने यसले पनि काम गर्न थप हौसला मिलेको उहाँले बताउनुभयो । यसका साथै रानाले नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा पराल काट्ने मेशिन समेत पाइसक्नुभएको छ ।
उहाँले मासिक १५ हजारमा एकजना महिलालाई रोजगारी पनि दिनुभएको छ । अरुले के भन्छन् भनेर अल्मलिनु हुँदैन, भित्री मनबाट गर्छु भनेर लाग्ने हो भने सकिदो रहेछ, जुन मैले गरिरहेकी छु ।
धेरै दिदी बहिनीहरुका श्रीमान विदेश जानु भएको छ, कतिपय यतिकै खाली बस्ने त्यहि एउटाको कमाइमा भर पर्ने गर्नुहुन्छ, त्यसै खाली नबस्नुस्, आ-आफ्नो ठाउँमा केहि न केहि गर्नुस भन्ने टीकाकुमारीको सुझाव छ । आफ्नो लागि आफैं गर्नुपर्छ, अरुको मुख ताक्नुहुँदैन भन्ने पनि उहाँको धारणा छ । अधिकार चाहियो भनेर हुँदैन, काम गरेर पनि देखाउनुपर्छ । कसैले काम गर्न दिदैन भने त्यहाँ अधिकार खोज्ने हो, यसै बसेर अधिकारका कुरा गरेर हुँदैन भन्ने उहाँको विचार छ ।
जीवनमा पैसा नभै हुँदैन, काम गरेर सानो बनिदैन,रोजगारीका साथै कमाईं पनि हुन्छ भने किन नगर्ने ? प्रत्येक महिलाहरु आय आर्जनमा जुट्न सक्यौं भने मात्र हामी सुखी र खुशी हुन सक्छौं । पैसाकै लागि धेरै दाजुभाई विदेशिनु भएको छ, त्यहि पैसा यहिँ कमाइन्छ भने यो भन्दा सजिलो र राम्रो अरु के हुन सक्छ र ? त्यसैले पनि हामी सबैले आय आर्जन हुने गरी काम गर्नुपर्ने टीकाकुमारीको भनाई छ ।