झापा। इजरायलमा एक वर्ष कृषि तालीम लिएर स्वदेश फर्किनुभएका झापा गाउँपालिका–३ का चन्द्र बस्नेत ३१ वर्षीय जिल्लामै ‘मिनी इजरायल’ बनाउने अभियानमा जुट्नुभएको छ ।

इजरायली कृषि प्रविधिको प्रयोग गरेर एकीकृत कृषि प्रणालीमार्फत झापामै मिनी इजराइल बनाउने अभियानमा उहाँ लाग्नुभएको हो । “इजरायली कृषि प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “मैले सिकेको सीपलाई व्यवहारमा उतारेर जिल्लामै मिनी इजरायल बनाउने सपना छ ।”

बस्नेतले आफ्नो अभियानलाई मूर्तरुप दिन २० बिघा क्षेत्रफलमा केरा खेती शुरु गर्नुभएको छ । ‘टिसु कल्टर’ प्रविधिबाट केराको बेर्ना उत्पादन गरेर खेती शुरु गरिएको उहाँले बताउनुभयो । “टिसु कल्चरबाट बेर्ना उत्पादन गरेर झापामा खेती गरिएको यो पहिलो हो”, उहाँले भन्नुभयो, “अरूतिर केराको गानो लगाएर खेती गर्ने गरिएको छ ।” २० बिघा जग्गामध्ये बस्नेतको व्यक्तिगत दुई बिघा जग्गा हो भने थप जग्गा लिजमा लिइएको हो ।

सन् २०१८–२०१९ को एकवर्षे कृषि तालीमका इजरायल जानुभएका बस्नेतले इजरायलको ‘इन्गेभ फार्म’मा तालीम लिनुभएको थियो । इन्गेभ इजरायलको ठूलो केरा खेती गर्ने फर्म रहेको उहाँले सुनाउनुभयो । “मैले काम गरेको फर्ममा एकीकृत प्रणालीबाट खेती गरिन्थ्यो”, उहाँले तालीमताका अनुभव सुनाउँदै भन्नुभयो, “त्यहाँ सिजनअनुसार भिन्दाभिन्दै उत्पादन लिइन्छ ।”

सोही अनुरुप केरासँगै कागती, सजीवन खेती गरिने बस्नेतको भनाइ छ । सजीवन खेतीका लागि भारतको दिल्लीबाट बीउ खरीद गरेर ल्याइएको छ । फागुनदेखि सजीवन खेती गरिने उहाँले सुनाउनुभयो ।

इजरायलमा तालीमसँगै उहाँले करीब रु २० लाखसमेत कमाउनुभयो । सोही रकमबाट ‘एग्री सेन्टर झापा प्रालि’ सञ्चालनमा ल्याएर कृषि कर्ममा लागेको उहाँ बताउनुहुन्छ । अहिलेसम्म फार्ममा रु ३५ लाख लगानी गरिसक्नुभएको छ । “आफूसँग भएको पैसा र साथीभाइसँगको सरसहयोगमा लगानी बढाउँदै लगेको छु”, उहाँले भन्नुभयो, “अझै लगानी चाहिएको छ, जुटाउने कोसिस भइरहेको छ ।” सरकारले स्वदेशमै आत्मनिर्भर हुन चाहने युवालाई विशेष प्राथमिकता दिएर ऋण प्रदान गर्नुपर्ने बताउनुभयो ।

एग्रो सेन्टरमा बस्नेतको ८० प्रतिशत लगानी छ । बाँकी २० प्रतिशत डम्बर खनाल (काठमाडौँ), रुपा खनाल (विराटनर), खुश्बु ओली (कनकाई) र सुस्मा कार्की (कनकाई) ले पाँच /पाँच प्रतिशतका दरले लगानी गर्नुभएको छ ।

जैविक केरा उत्पादन गर्न गाईवस्तुको मल प्रयोग गरिएको छ । प्रतिबिरुवा तीन मिटरको फरकमा लगाइएको छ । अहिलेसम्म एक हजार २०० बिरुवा लगाइएको बस्नेतले बताउनुभयो । खेरा खेतीमा इन्गेभ फार्मले समेत प्राविधिक सहयोगसमेत गरिरहेका छ ।

केराको बेर्ना रोपेको वर्षदिनदेखि उत्पादन शुरु हुने र प्रतिबिगाह रु चार लाखसम्म आम्दामी लिन सकिने बस्नेत बनाउनुहुन्छ । केराबाट विभिन्न किसिमका परिकार उत्पादन गरी तेस्रो मुलुकमा निर्यात गर्ने भावी योजना रहेको बस्नेतले सुनाउनुभयो ।

किसानलाई व्यावसायिक बनाउन आफूहरुले बीउ बैंकसमेत स्थापना गरेको बस्नेतले बताउनुभयो । “किसानलाई गुणस्तरीय बीउ उपलब्ध गराउन बीउ बैंक स्थापना गरेका छौँ”, उहाँले भन्नुभयो, “काठमाडौँबाट गुणस्तरीय बीउ ल्याएर किसानलाई सहुलियतमा दिने गरिएको छ ।” उहाँले बीउ उम्रिने ग्यारेन्टीसमेत दिने गरिएको बताउनुभयो ।

यता, कृषि ज्ञानकेन्द्र झापाका प्रमुख नीलकमल सिंहले झापामा करीब ३०० बिघामा केरा खेती हुने गरेको जानकारी दिनुभयो । प्रमुख सिंहले झापामा धान, मकै, सुपारी, रबरको सुपर जोन घोषणा भइसकेको बताउँदै केराको समेत जोन र सुपर जोनको बनाउन सकिने बताउनुभयो । “एउटै क्षेत्रमा ५०० हेक्टर केरा खेती गरिएमा सरकारले केरा जोन घोषणा गर्न सक्छ”, सिंहले भन्नुभयो ।