
विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होली डे’ समाप्त गर्ने योजनाका साथ अघि बढिरहेको बताउनुभएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज यहाँ आयोजित विराटनगर महानगरपालिकासँगको साझेदारीमा पशु बधशाला निर्माण-सुधार तथा दुग्ध सहकारी संस्था र डेरी उद्यमीसँगको साझेदारीमा मिल्क पाउडर प्लान्ट स्थापना कार्यक्रम सञ्चालनका लागि भएको सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा उहाँले कृषि क्षेत्रमा १ नं रहेको प्रदेश नं १ मा पर्यटन, कृषि, जलस्रोतको विकास गर्न सरकार आवश्यक अध्ययन गरिरहेको चर्चा गर्नुभयो ।
मुख्यमन्त्री राईले आम नागरिकलाई स्वस्थकर मासु खान बन्ने बधशाला र मिल्क पाउडर प्लान्ट गुणस्तरीय र जनतालाई सेवा दिने किसिमको हुनुपर्ने बताउँदै बधशाला नमूना, आधुनिक र सुविधाजनक हुनुपर्नेमा जोड दिनुभयो ।
पशु व्यवसाय गर्ने किसानले उत्पादन गर्ने दूध बजारमा बिक्री नहुँदाको पीडालाई कम गर्न पाउडर प्लान्टले मद्दत गर्ने र यसबाट दुग्ध उत्पादक कृषक लाभान्वित हुने भन्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले बलियो इच्छाशक्तिबाट काम गरिरहेको चर्चा गर्नुभयो ।
प्रदेश प्रमुख सचिव केदार न्यौपानेले जनताका समस्या र अप्ठ्यारालाई कम गर्न प्रदेश सरकार दत्तचित भएर काम गरिरहेको बताउनुभयो । भूमि व्यवस्था, कृषि तथा सहकारी सचिव हस्तबहादुर विष्टले प्रदेश सरकारको नीति तथा योजनामा समावेश भएको यस्ता कार्यक्रमले प्रदेशभरिका दुग्ध उत्पादक किसान र स्वस्थकर मासु खाने उपभोक्ता लाभान्वित हुने बताउनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख अधिकृत एकदेव अधिकारी र कामधेनु दुग्ध विकास सहकारी संस्था लि।का अध्यक्ष बाबुराम खत्रीले सरकारले लिएको तीन खम्बे अर्थ नीति अनुसार निजी, साझेदारी र सहकारीमार्फत हुने यस्ता काम समयमै पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विराटनगर महानगरपालिका वडा नं.८ स्थित नगरपालिकाको स्वामित्वमा रहेको एक विघा आठ कठ्ठा १० धुर जग्गामा छ करोड २२ लाख ५४ हजारको लागतमा निर्माण हुने सो बधशालाका लागि प्रदेश सरकारले रु।तीन करोड सहयोग गर्ने बताइएको छ । त्यस्तै कामधेनु दुग्ध विकास सहकारी संस्था लि। तरहरामा रु.२८ करोड ६१ लाख २३ हजारको लागतमा निर्माण हुने दुग्ध पाउडर प्लान्टका लागि प्रदेश सरकारले रु।२० करोड सहयोग गरेको बताइएको छ ।
दुई वर्षभित्र निर्माण गरिने दुवै योजनाअन्तर्गत बधशालाका लागि सम्झौतापत्रमा भूमि व्यवस्था, कृषि तथा सहकारी सचिव बिष्ट र विराटनगर महानगरपालिका प्रमुख अधिकृत अधिकारी तथा दुग्ध पाउडर प्लान्टका लागि सचिव बिष्ट र कामधेनु दुग्ध विकास सहकारी संस्था लि.का अध्यक्ष बाबुराम खत्री, सगरमाथा एकीकृत दुग्ध उद्योग प्रवद्र्धन केन्द्र प्रा.लि.का अध्यक्ष योगेन्द्र चिमोरिया र जीवन विकास डेरी प्रोडक्ट्स प्रा।लि।का प्रवन्धक दिपेश खतिवडाले हस्ताक्षर गर्नु भएको थियो ।