
कञ्चनपुर। कञ्चनपुरमा रातो केराको व्यवसायीक खेती सुरु भएको छ । ‘सुगर फ्री’ का रूपमा चिनिने यो केराको नेपालमै पहिलो पटक खेती सुरु गरिएको हो । क्याल्सियम र चिनीको मात्रा कम हुने भएकाले मधुमेहका बिरामीका लागि उपयुक्त मानिने यो केराको बोट र फल दुवै रातो हुन्छ ।
अन्य केराकै समयअनुसार फल्ने र त्यस्तै हुने यसको बोट भने निकै आकर्षक देखिन्छ । केरा उत्पादन तथा प्रवर्द्धन कृषि सहकारी संस्थाले परीक्षणका रूपमा उक्त केरा लगाएको हो । अहिले अन्य केरासँगै यसलाई पनि रोपिएको छ । यो केरा दक्षिण भारतमा बढी मात्रामा प्रयोग भएको देखिन्छ ।
रातो केराको बोट सामान्य केरा जस्तै हुन्छ । यसले ‘जी नाइन’ र ‘विलियम हाइब्रेड’ को तुलनामा २ महिना ढिलो फल दिन्छ । फल पनि यसको रातो र ठूलो हुन्छ ।
यसमा सोडियम तथा कोलेस्ट्रोल हुँदैन भने म्याग्नेसियम तथा प्रोटिन पर्याप्त पाइन्छ । मुटु सम्बन्धी रोगीका लागि यो कुरा निकै लाभदायी हुने बताइन्छ ।