
झापा। केही वर्षअघिसम्म पूर्वका बजारमा खपत हुने माछा भारत र तेस्रो देशको भरमा थियो । तर, पछिल्लो समय नेपालमा नै माछाको व्यवसायिक उत्पादन हुन थालेपछि पूर्वका नाकाबाट हुने माछा आयात क्रमशः ओरालो लागेको छ ।
सरकारले व्यवसायिक माछा पालनका लागि रकम अनुदान दिन थालेपछि व्यवसायिक माछा पालनतर्फ किसानको आर्कषण बढेसँगै पूर्वको काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज र इलामको पशुपतिनगर नाकाबाट भित्रने माछाको आयातमा कमी आएको छ ।
यी चार नाकामा चेक प्वाइन्ट रहेको पशु क्वारेन्टाइन कार्यालय काँकडभिट्टाको तथ्याङ्कअनुसार तीन वर्षयता पूर्वबाट हुने माछाको आयात क्रमशः घटेको हो । आर्थिक वर्ष २०७१/७२ मा यो नाका हुँदै २ हजार १ सय ८ दशमलव ६६ मेट्रिक टन माछा आयात भएको थियो । आव ०७३/७४ मा आयात झण्डै आधा घटेर १ हजार ६ सय ७४ मेट्रिक टनमा पुगेको छ । आव २०७४/७५ मा पूर्वबाट १ हजार ५ सय ६० मेट्रिक टन मात्रै माछा आयात भएको छ । चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा २ सय ८९ मेट्रिक टन मात्र आयात भएको पशु क्वारेन्टाइन कार्यालय काँकडभिट्टा निमिक्त प्रमुख मुकेशकुमार सिंहले बताए ।‘रेकर्ड हेर्दा केही वर्षदेखि माछाको आयात घटेको छ’, सिंहले भने, ‘अहिले त कृषि कार्यालय स्थानीय तहमै पुगेको छ, माछा आयात ज्यादै न्यून हुने अवस्था देखिन्छ ।’
यसैगरी, व्यावसायिक रूपमा नेपालमा माछा पाल्न थालिएपछि भारतबाट हुने माछाको भुराको आयातमा कमी आएको छ । कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा २० लाख २ हजार वटा माछाका भुरा आयात भएकोमा एक वर्षपछि घटेर १ लाख ८३ हजार एक वटामा सीमित भएको छ ।
सरकारले व्यावसायिक रूपमा माछा पालनका किसानलाई पोखरी खन्न अनुदान दिएका कारण व्यावसायिक माछापालनमा किसानको आर्कषण बढेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
सरकारले एक हेक्टर क्षेत्रफलमा माछापालन गर्दै आएका किसानलाई तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै छ । नेपालमै धमाधम माछापालन हुन थालेपछि बजारमा समेत स्थानीयस्तरमै उत्पादन हुने फ्रेस माछाको माग बढेको व्यापारी बताउँछन् । ‘पारी ९भारत० को माछा पहिले भन्दा कमै जान्छ अहिले’, बिर्तामोडका माछा व्यापारी सुरेश श्रेष्ठले भने, ‘ग्राहकले यतै ९नेपाल० को माछा खोज्न थालेका छन् ।’
इलाम र झापाका नाकाहरूबाट आयात हुने माछा झापा, इलाम, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लाहरूमा खपत हुने गरेको छ । झापामा ३ सय २९ हेक्टर क्षेत्रफलमा किसानले व्यवसायिक रुपमा माछापालन गर्दै आएका छन् । जिल्लामा पछिल्लो आर्थिक वर्षमा एक हजार ५० मेट्रिक टन माछा उत्पादन भएको थियो ।
मत्स्य विकास अधिकृत प्रदीप श्रेष्ठका अनुसार गतवर्ष जिल्लामा १५ हेक्टरका लागि ४५ लाख रुपैयाँ अनुदान आएको थियो । माछा पालनका लागि जिल्लाको मेचीनगर—७ पकेट क्षेत्र मानिए पनि पछिल्लो चरणमा गौरादहका किसानले अत्यधिक रूपमा व्यावसायिक माछा पालन सुरु गरेका छन् । अहिले गौरादह नगरपालिका माछा पालनका लागि पकेट क्षेत्र मानिएको अधिकृत श्रेष्ठले बताए ।
‘सरकारले माछा पालनका लागि पोखरी खन्न किसानलाई अनुदान रकम दिन थालेपछि व्यवसायिक माछापालनतर्फ किसानको आकर्षण बढेको छ’, अधिकृत श्रेष्ठले भने, ‘जिल्लामा व्यावसायिक रूपमा माछापालन हुन थालेपछि उपभोक्ताले समेत स्वस्थ र ताजा माछा खोज्ने गरेका छन्, जसका कारण भारतबाट आयात हुने माछामा करिब ५० प्रतिशतले कमी आएको छ ।’
अनुदान रकम पाएपछि अहिले जिल्लाभर माछा पालनका लागि धमाधम पोखरी खन्नेक्रम सुरु भएको छ ।हालसम्मको अध्ययन तथा अनुसन्धानबाट नेपालमा १ सय ८५ जातका माछा पाइएको भएको भएपनि हाल व्यवसायीले माछापालनमा प्रयोग गरिएका सात जातका विकासे माछामध्ये तीन स्वदेशी तथा चार विदेशी जातका माछाहरू छन् ।
स्वदेशी माछाहरूमा रहु, नैनी तथा भाकुर, विदेशीमा कार्प जातका माछाहरू सिल्भर कार्प, विगहेड कार्प, ग्रास कार्प, तथा कमन कार्प तथा अन्य विदेशी जातका माछाहरूमा पुन्टियस, टिलापिया, पंगासीयस र रेन्बोट्राउट र सौन्द्धर्य माछा ९रिन माछा०का जातहरूमा कोइ कार्प रहेका छन् ।