ललितपुर। पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ । संघीय राजधानी काठमाडौंलगायत विभिन्न ठाउँमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका थिए ।
पशु सेवा विभागका अनुसार यही साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन । पछिल्लो पटक काठमाडौंको गोकणेश्वर–१ सुन्दरीजलमा सङ्क्रमण देखिएको थियो । विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार पछिल्लो समय सङ्क्रमण देखिएको छैन ।
सङ्क्रमण भएका वरपरका क्षेत्रबाट नमुना ल्याएर परीक्षणको काम भइरहेको छ । उनले भने, अहिले नियन्त्रित अवस्थामा छ । बर्डफ्लु देखिएका क्षेत्रको वरिपरिका नमूना ल्याएर परीक्षण गर्दैछौँ ।
विभागको तथ्याङ्क अनुसार चैत ४ गते केन्द्रीय पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो । यससँगै चैत ६ गते कृषि तथा पशु पन्छी बिकास मन्त्रालयबाट बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरिएको थियो ।
मोरङ्को उर्लाबारी–८ र सुन्दर हरैचा–४ मा पहिलोपटक बर्डफ्लु देखिएको हो । दाहालका अनुसार कमर्सियल लेयर्स बढी प्रभावित भएको थियो । यस्तै प्यारेन्ट, कमर्सियल ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजमा रोगको सङ्क्रमण भएको थियो । हालसम्म ११ जिल्लामा सङ्क्रमण देखिएको छ ।
काठमाडौं उपत्यकाबाहेक सात जिल्लामा रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको उनले बताए । काठमाडौं उपत्यका र काभ्रे जिल्लामा मात्र ११९ स्थानमा रोग पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र ९२ स्थानमा सङ्क्रमण देखिएको थियो । जसमध्ये काठमाडौंमा ३२, ललितपुरको सदर चिडियाखाना गरी १५ र भक्तपुरमा ४५ ठाउँमा सङ्क्रमण देखिएको थियो ।
विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार नेपालभर आठ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको छ । एघार लाख ६५ हजार ६६३ वटा अण्डा, दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको छ ।
काठमाडौं उपत्यकाभित्र र काभ्रेमा मात्र तीन लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएको थियो । महानिर्देशक दाहालका अनुसार प्रभावित कृषकलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ ।
५० करोड बजेट रकमान्तर भई ५२ करोड व्यवस्थापन भएकोमा हाल सम्म १०४ जना कृषक र फर्मको खातामा रु. ५० करोड ७१ लाख १५ हजार ७०४ राहत रकम निकासा गरी सकेको छ ।
देशभर रहेका पन्छी रोग अन्वेषण प्रयोगशालाले तीव्र रुपमा परीक्षण अघि बढाएका छन् । सरकारको तदारुपता र किसानको सहयोगका कारण बर्डफ्लु नियन्त्रणमा आउन सकेको हो ।









