धनुषा। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले धनुषा जिल्लाका किसानको घरदैलोमा पुगेर माटो सुधार तथा प्राङ्गारिक मलको प्रयोग बढाउन आग्रह गर्नुभएको छ। जिल्लाको विभिन्न कृषि गतिविधिको स्थलगत अवलोकन गर्दै उहाँले दिगो कृषि विकासका लागि माटोको स्वास्थ्य सुधारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

धनुषा भ्रमणका क्रममा मन्त्री चौधरीले लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड अन्तर्गत सञ्चालित कस्टम हायरिङ सेन्टर, बटेश्वर गाउँपालिका–५ शान्तिपुरस्थित अन्नपूर्ण माछापालन कम्पनी प्रा।लि।, तथा चित्रनगरस्थित आँप बगैंचाको अवलोकन गर्नुभएको थियो। यस क्रममा उहाँले किसानहरूसँग प्रत्यक्ष छलफल गर्दै कृषि उत्पादन वृद्धि र माटोको उर्वराशक्ति संरक्षणका विषयमा सुझाव दिनुभएको हो।

मन्त्री चौधरीले किसानलाई स्थानीय स्रोतबाट उत्पादन हुने गोठे मल, कम्पोस्ट तथा अन्य प्राङ्गारिक मलको प्रयोग बढाउन आग्रह गर्दै भन्नुभयो, माटो सुधार नै कृषि सुधारको आधार हो। स्थानीय स्रोतबाट बनेका गोठे मल र प्राङ्गारिक मलको प्रयोग बढाउन सबै किसानलाई आग्रह गर्दछु। यसले रासायनिक मलमाथिको निर्भरता घटाउनुका साथै माटोको दीर्घकालीन उर्वराशक्ति संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँछ। उहाँले रासायनिक मलको उचित व्यवस्थापनसँगै प्राङ्गारिक मलको प्रयोग विस्तार गर्न सके उत्पादन लागत घट्ने, वातावरण संरक्षण हुने तथा दिगो कृषि प्रणाली विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

लक्ष्मीनियाँस्थित कस्टम हायरिङ सेन्टरको निरीक्षणका क्रममा मन्त्री चौधरीले महिला कृषकहरूको सक्रियताको प्रशंसा गर्दै आधुनिक कृषि उपकरण किसानलाई सहुलियत दरमा उपलब्ध गराउने यस्ता केन्द्रहरूले कृषि आधुनिकीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

त्यसैगरी, अन्नपूर्ण माछापालन कम्पनी प्रा।लि।को अवलोकनका क्रममा उहाँले व्यवसायिक मत्स्यपालन, माछाको भुरा, दाना तथा आवश्यक औषधि उत्पादन एवं आपूर्तिमार्फत स्थानीय मत्स्य व्यवसायलाई सुदृढ बनाउन कम्पनीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

भ्रमणकै क्रममा मन्त्री चौधरीले चित्रनगरस्थित आँप बगैंचाको निरीक्षण गर्दै फलफूल खेतीको व्यवसायीकरण, उत्पादन वृद्धि तथा बजार व्यवस्थापनका विषयमा किसानसँग छलफल गर्नुभएको थियो।

मन्त्री चौधरीले किसानको खेतबारीमै पुगेर उनीहरूको समस्या, आवश्यकता र सम्भावनाबारे प्रत्यक्ष जानकारी लिँदै सरकारले किसानमुखी, दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माणका लागि आवश्यक नीति तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।