ललितपुर।  नेपालभर हालसम्म कुल धान खेतीयोग्य क्षेत्रफलको ७३.६१ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार साउन ४ गतेसम्म देशभर १३ लाख ७३ हजार ८६२ हेक्टर धान खेतीयोग्य जमिनमध्ये १० लाख ११ हजार ३०२ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको हो ।

प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेश ९०.६७ प्रतिशत रोपाइँसहित पहिलो स्थानमा रहेको छ । त्यसपछि लुम्बिनीमा ८०.६५ प्रतिशत, गण्डकीमा ७८.३६ प्रतिशत, बागमतीमा ७७.३३ प्रतिशत र कर्णालीमा ७७.०५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।

धान उत्पादनको प्रमुख क्षेत्र मानिने मधेश प्रदेशमा भने हालसम्म ५७.९३ प्रतिशत मात्रै रोपाइँ भएको छ । कोशी प्रदेशमा ७३.९४ प्रतिशत रोपाइँ सम्पन्न भएको तथ्यांकले देखाएको छ ।

गत वर्षको तुलनामा यस वर्ष मनसुन केही ढिलो सक्रिय भएकाले सुरुआती चरणमा रोपाइँको गति सुस्त भए पनि पछिल्ला दिनमा वर्षा बढेसँगै अधिकांश जिल्लामा रोपाइँले तीव्रता लिएको कृषि विभागले जनाएको छ ।