
ललितपुर। नेपाली बजारमा आँप, स्ट्रेबरी र केराको स्वादमा ‘सुलभ दही’ सार्वजनिक भएको छ।
उपभोक्ताको मागलाई मध्यनजर गरेर बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडभित्र रहेको सामुहिक कृषक डेरीले सुलभ ब्राण्डमा आँप, स्ट्रेबरी र केरा स्वादको दही उपलब्ध गराएको हो।
उपभोक्तालाई फलफुल स्वादसहित दहीको उपभोग गर्न पाउने विकल्प प्रदान गर्न उक्त तीन फलफुलको पल्प (फलफुलको टुक्रा) राखेर दहीको उत्पादन थालेको डेरीका अध्यक्ष रविप्रसाद रिजालले बताए।
‘यसरी तीन फरक स्वादमा दही उपलब्ध गराउने सुलभ पहिलो कम्पनी भएको छ,’उनले भने ‘हामीले पहिलो पटक फलफुलको स्वादमा दही ल्याउने जमर्को गरेका हौं ।’कम्पनीले ९० मिलिको कपमा उपलब्ध गराएको दहीको बजार मूल्य २५ रुपैयाँ तोकेको छ।
उपलब्ध दहीको उपभोगबाट उपभोक्ताले अपेक्षित सन्तुष्टि पाउने उनले विश्वास व्यक्त गरे। त्यस्तै कार्यक्रममा कम्पनीका महाप्रबन्धक सन्तोष पोखरेलले सर्वप्रथम दही काठमाडौं उपत्यकामा उपलब्ध गराएको बताए।
‘हामीले उपत्यकाको मार्ट, डिपार्टमेन्ट स्टोर, अस्पताल, स्कुल, कलेज लगायतमा कम्पनीले दही उपलब्ध गराउन शुरु गरिसकेको छ,’उनले थपे ‘हामीले भारत तथा युरोपियन देशबाट आयात गरिएको फलफुलको रसको टुक्रा दहीमा उपयोग गरेका छौं।’
भविश्यमा स्वदेशी फलफुल तथा फलफुलको रस प्रयोग गर्ने योजना रहेको उनले बताए। उनको अनुसार सार्वजनिक गरिएको दहीमा उक्त तीन आँप, स्ट्रेबरी र केराको फ्लेबर मात्रै नभइ सिधै ओर्जीनल फलफूलनै प्रयोग गरिने भएकोले वस्तविक स्वाद दहीमा पाउन सकिने छ।
उद्योगले शुरुवात चरणमा दैनिक एक हजार कप दही उत्पादन गरिरहेको छ। चितवन, बारा र सर्लाहीका संकलन केन्द्रबाट दैनिक ६ हजार लिटर दुध संकलन गर्दै आएको छ।