अहिले तरकारीको मौसम छ । यस्तो मौसम अरू तरकारीका साथै टमाटर उत्पादनका लागि पनि निकै उपयुक्त मानिन्छ । हामी बजारबाट टमाटर ल्याएर खाने गर्छौं । तर, बजारको भन्दा घरमै उत्पादन गरेर टमाटरको प्रयोग गर्न सकिन्छ ।

यसका लागि थोरै समय मात्र लगानी गर्दा पनि हाइजेनिक टमाटर घरमै उत्पादन गर्न सकिन्छ । यस्तो टमाटरको प्रयोगले स्वास्थ्यलाई अझ बढी फाइदा पुर्‍याउँछ । तर, कसरी उत्पादन गर्ने त हाइजेनिक टमाटर रु तारकेश्वर नगरपालिका–२, धर्मस्थलीमा तरकारी फार्म सञ्चालन गरी बसेका नरबहादुर विश्वकर्माले यसबारे बताएका छन् :

टमाटर उत्पादन गर्न बेर्ना रोप्नुभन्दा एक महिनाअगाडिबाटै तयारी सुरु गर्नुपर्छ । एक महिना पहिला टमाटर रोप्ने माटोमा मल मिलाएर राख्नुपर्छ । त्यसमा पानी पनि राख्नुपर्छ । यसो गर्दा माटो मलिलो हुने वा पाक्ने गर्छ ।

एक महिनामा मात्र टमाटरको बेर्ना रोप्न सकिन्छ । त्यसका लागि सबैभन्दा पहिला खाल्डा बनाएर त्यसमा पानी र मल राखी बेर्ना रोप्दा अझ राम्रो हुन्छ । यसो गर्दा बोटलाई पछिसम्म पनि राम्रोसँग पोषण पुग्न सहज हुन्छ र बिरुवा बढी उत्पादन दिने खालको हुन्छ ।

टमाटर रोपेपछि बिहान–बेलुकी नियमित पानी दिन आवश्यक हुन्छ । १५ दिनसम्म यसरी पानी दिनुपर्छ । त्यतिवेलासम्म बिरुवा रसी लगाउन मिल्ने खालको पनि भइसक्छ । त्यस्तो बोटलाई रसी लगाएर संरक्षण दिन सकिन्छ ।

त्यस्तै, २५ देखि ३० दिनमा बिरुवाको कटिङ गर्नुपर्छ । कटिङ गरी अनावश्यक, मरेका पात र हाँगा हटाउन सकिन्छ ।

२ महिनादेखि ७५ दिनसम्ममा बिरुवाले फल दिन सुरु गर्छ । त्यसपछि पाकेको फल टिपेर प्रयोग गर्न सकिन्छ । त्यही बोटमा पुनः अरू फल लाग्छ ।

संरक्षण गरेमा टमाटरको बोटलाई ६ देखि ८ महिनासम्म जोगाउन र त्यसको फल प्रयोग गर्न सकिन्छ ।तर, बोटमा पानी राख्न भने छोड्नुहुँदैन । बिरुवाले फल दिन सुरु गरे पनि प्रत्येक ३ देखि ५ दिनको बीचमा पानी दिन आवश्यक हुन्छ ।

बोट संरक्षणका लागि टनेल वा प्लास्टिकको हाउस बनाउन सकिन्छ । भुइँका झारपात पनि समय–समयमा गोडमेल गर्नुपर्छ । समय–समयमा खन्नु पनि पर्छ ।

टमाटरलाई डडुवा, सेतो पुतली, खुम्लेकिराजस्ताले निकै सताउने गर्छन् । यस्तो अवस्थामा हाउसभित्र क्लिप राख्न सकिन्छ । यसो गर्दा यस्ता पुतलीहरू त्यसैमा पुगेर टाँसिन्छन् । जसका कारण बोट सुरक्षित रहन्छ ।

स्रोत : न्यूज एग्रो