सोलुखुम्बु। ढुवानी समस्याका कारण सगरमाथा अञ्चलको तीन जिल्लामा खाद्यन्न तथा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ।

खाद्यन्न र खाना पकाउने ग्यासमा मूल्यवृद्धि भएको छ भने ढुवानीमा अवरोध भएको कारण देखाएर केही व्यापारीले कालाबजारी गर्न थालेको उपभोक्ताको आरोप छ।

थुलुङ दूधकोशी गाउँपालिका स्थित लोखीमका सिंहबहादुर तामाङले एक हजार नौ सय रुपैयाँमा किनेको चामलको मूल्य वृद्धि भएर दुई हजार एक सय रुपैयाँ पुगेको बताए। हिमाली जिल्लामा मूल्य वृद्धि हुँदा सर्वसाधारण मारमा परेका छन्।

दैनिक उपभोग्य बस्तु दाल, चिनी, चामल, नुन र तेलको मूल्य वृद्धि भएको छ। निर्माण सामग्रीको अभाव भएको छ। सोलु दूधकुण्ड नगरपालिका ५ की करिश्मा बस्नेत, मूल्य वृद्धि हुँदा दैनिकी कष्टकर बनेको बताउँछन्। उनले भनिन, “हरेक सामानको मूल्यमा वृद्धि भयो, खान नसकिने अवस्था छ।”

सिद्धिचरण लोकमार्गको ठाँटी क्षेत्रमा सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेको छ। सो क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएको छ। अहिले डिजेल र पेट्रोलको अभाव भएको छ। ग्यासमा प्रति सिलिण्डर र १५० रुपैयाँ सम्म मूल्य वृद्धि भएको व्यापारी दोर्जी शेर्पाले बताए।

शेर्पाले भने, “पुराना मौज्दात सामानको मूल्य वृद्धि भएको छैन तर भर्खरै ढुवानी भएको सामानको मूल्य ढुवानीका कारण बढेको छ।”

उपभोक्ताले निर्माण सामग्रीको अत्याधिक माग गरेका छन्। अत्याधिक माग भएपनि सामग्री उपलब्ध गराउन नसकेको माँ देवी अटोग्रिल सेन्टरका प्रोपराइटर भोगेन्द्र खनालले बताए। उनले भने, “पुनः निर्माण्का चरणमा रहेकाले धमाधम घर निर्माण हुँदै छन्, सामान छैन, बर्षा लागिसक्यो। उपभोक्तालाई सामान उपलब्ध गराउन सकेका छनौँ।”

कटारीबाट सामान ढुवानी गर्न नसकिने भएपछि वैकल्पिक मार्गहुँदै सामान ल्याउन नपाएको व्यापारी बताउँछन्। शिद्धिचरण लोकमार्गको विकल्पका रुपमा रहेको वर्दिबास–सिन्धुली–खुर्कोट सडक खण्डमा पनि १० टन माथिका मालबाहक ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। सडकका कारण ढुवानी सेवा ठप्प भएको पनि सोलुखुम्बु उद्योग वाणिज्य संघका सचिव तार्देन शेर्पाले बताए।

शेर्पाले भने, “पुराना सामानको मूल्य बढेको छैन तर भर्खरै ढुवानी गरिएका सामानको मूल्य ह्वात्तै बढेको छ।”

सिद्धिचरण लोकमार्गको ठाँटी क्षेत्रमा सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेकाले सवारी साधन सञ्चालनका लागि व्यवसायीले बिपी राजमार्गको प्रयोग गर्न थालेका छन्। सामान आयात ठप्प भएसँगै बजारमा ग्राहकको माग अनुसारको सामग्री उपलब्ध हुन छाडेको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए।

जिल्लामा मौज्दात सामानले १५ दिन धान्न सक्ने उद्योग वाणिज्य संघले जनाएको छ। उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले भने, “हामीलाई नाकाबन्दीको आभाष भएको छ, पेट्रोलियम पदार्थ, निर्माण सामग्री लगायतको अभाव भएको छ।”

सर्वोच्च अदालतले बिपी राजमार्गमा ठूला सवारी साधन नगुडाउन अन्तरिम आदेश दिएसँगै खाद्यान्न र पेट्रोलियम पदार्थ बोकेका मालबाहक सवारी साधन सिन्धुलीमा रोकिएका छन्। ठाँटी क्षेत्रमा भइरहेको सडक स्तरोन्नतिको काम असार १५ सम्म सक्ने बताइएको छ।