कञ्चनपुर।  कञ्चनपुरमा नयाँ प्रविधि ‘थोपा सिँचाइ’ प्रणालीबाट केराखेती सुरु गरिएको छ । केरा उत्पादन तथा प्रवद्र्धन कृषि सहकारी संस्थाले जमिन भाडामा लिएर नयाँ प्रविधिबाट केराखेती सुरु गरेको हो ।

भीमदत्त नगरपालिका–३ नौलाखेतमा ५ बिघा जमिन भाडामा लिएर नयाँ प्रविधिबाट इजरायली ‘जी–९’ जातको केराखेती सुरु गर्न लागेको केरा उत्पादन तथा प्रवद्र्धन कृषि सहकारी संस्था कञ्चनपुरका अध्यक्ष पूर्णसिंह साउदले बताए । उनका अनुसार स्थानीय डम्बल सिंह, वसन्त सिह र गणेश सिहको जमिन वार्षिक डेढ लाखमा भाडामा लिएर व्यावसायिक केराखेती गरिएको छ ।

‘सिँचाइका लागि यसअघि कुलो बनाएर खेती गर्दै आएका थियौँ,’ ‘उनले भने, ‘यो नयाँ प्रविधिमा पाइपबाट सीधै सिँचाइ गरिन्छ ।’ सबै केराका बोटलाई एकसाथ सिँचाइ गरिने र आवश्यक कीटनाशक औषधि पनि पाइपमार्फत हालिने अध्यक्ष साउदले बताए । उनका अनुसार हेल्भटास र भीमदत्त नगरपालिकाको अनुदानमा केराखेती गर्न लागिएको हो ।

हेल्भटासका क्षेत्रीय व्यापार अधिकृत टेकबहादुर सिहले नौलो प्रविधिबाट हरेक केराका बोटमा दैनिक ४ लिटर पानी एकसाथ हालिने बताए । उनले भने, ‘यो प्रविधिबाट सिँचाइ र कीटनाशक औषधि छर्किन सजिलो छ ।’ हेल्भटासको ३ लाख २० हजार र भीमदत्त नगरपालिकाको ७ लाख अनुदानमा नयाँ प्रविधिबाट केराखेती गरिएको हो ।

उनका अनुसार कञ्चनपुरमा मात्र ६ सय हेक्टर जमिनमा केराखेती गरिएको छ । वार्षिक ३० हजार मेक्ट्रिकटन केरा उत्पादन हुँदै आएको कञ्चनपुरमा ५ सय ५७ जना कृषक प्रत्यक्ष केराखेतीमा संलग्न छन् ।

यसमा १५ सयजना केरा व्यवसायमा जोडिएको बजार अधिकृत सिहले बताए । नयाँ प्रविधिबाट उत्पादन र गुणस्तरमा सुधार हुने उनले आशा लिएका छन् ।