
चितवन। नेपालमा भैँसीको न्यून प्रजनन क्षमताको समयमा बाली लगाउने प्रविधिको अनुसन्धान सफल भएको छ ।एउटै मात्र मौसममा प्रजनन हुने भैँसीलाई अनुसन्धानपछि अब नेपालमा जुनसुकै समयमा पनि गर्भाधान गरी प्रजनन गराउन सकिने भएको छ ।
कृषि तथा वन विश्वविद्यालय रामपुर चितवनका प्राध्यापक डाक्टर भूमिनन्द देवकोटाको टोलीले भैँसीको न्यून प्रजनन क्षमताको समयमा प्रजनन् क्षमता बढाउनका लागि गरेको अनुसन्धान सफल भएको हो ।
नेपालमा भैँसी पालन गर्ने कृषकहरु एउटै मौसममा मात्र भैँसीको गर्भाधारण हुने र प्रजनन् हुने समस्याले पीडित थिए । यो अनुसन्धानको सफलताले कृषकलाई राहत हुने भएको छ ।
भैँसीको बेमौसमी गर्भाधारण अनुसन्धान सफल भएको जानकारी दिँदै डाक्टर देवकोटाले यो अनुसन्धानले नेपालमा भैँसीको उत्पादन तथा उत्पादकत्व वृिद्ध गर्न सहयोग पुग्ने बताउनुभयो ।
‘१० वर्ष लगाएर गरिएको अनुसन्धान सफल भएको छ’, उहाँले भन्नुभयो, ‘अब सबै मौसममा भैँसीको गर्भाधारण गराउन सकिन्छ ।’
नेपालमा पालिने भैँसीमा चैतदेखि असार महिनासम्म कमै मात्र गर्भाधारण हुने गरेको थियो । साउनदेखि मंसिर महिनासम्म मात्र भैँसीमा गर्भाधारण हँुदा एउटै मौसममा मात्र भैँसीको उत्पादन र उत्पादकत्व बढ्ने गरेको थियो ।‘एउटा मौसममा मात्र दूध उत्पादन धेरै हुने गरेको थियो’, देवकोटाले भन्नुभयो, ‘अब सबै मौसममा समान दूध उत्पादन लिन सकिने भएको छ ।’
अहिलेसम्म एउटा मौसममा धेरै दूध हुने र अर्को मौसममा दूधको अभाव हुँदै आएको छ । यसैका कारण किसानले हिउँदमा दूध अभाव हुने र वर्षात्मा दूध धेरै हुँदा दूध बिक्रीमा समेत समस्या भोग्दै आएका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायका प्राध्यापक डाक्टर देवकोटाको नेतृत्वमा गएको १० वर्षदेखि यस सम्बन्धमा अनुसन्धान भइरहेको थियो ।
चितवनको रामपुरमा रहेको भैँसी फार्म र पोखराको पशु विकास फार्ममा रहेका भैँसीहरुमा अनुसन्धान गरिएको थियो ।पहिलेका वर्षहरुमा प्रत्येक वर्ष १० वटा भैँसीमा यो परीक्षण गरिएकोमा तीन÷चार वटामा मात्रै सफलता मिलेको थियो । यस वर्ष भने रामपुरमा नौ वटा मध्ये पाँचवटा र पोखरामा पाँचवटा मध्ये दुईवटा भैँसीले चैतदेखि असारसम्म गर्भधारण गरी ब्याइसकेका छन् ।
भैँसीका प्रजनन् अंग कस्तो छ भनेर अल्ट्रासाउण्ड प्रविधिबाट हेरेर आवश्यकता अनुसारको हर्मोन तयार गरी भैँसीलाई खुवाउँदा सबै मौसममा भैँसी प्रजनन्मा सहज भएको अनुसन्धानकर्ताले बताएका छन् ।
डा। देवकोटाका अनुसार नाम्ले, माटे लगायतका आन्तरिक परजीवी तथा वातावरणीय तापक्रमका कारण पनि भैंसीलाई तनाव बढ्ने गरेको देखिएको छ ।
हिउँदको समयमा पर्याप्त पोषणको अभाव र तनावका कारण भैँसीको शरीरभित्र आन्तरिक परजीवीको संक्रमण बढी भएको पाइन्छ । पोषणयुक्त खाना खुवाउने र विशेष किसिमको हर्मोन प्रविधि प्रयोग गरेर भैँसीलाई हिउँदको समयमा पनि प्रजनन्योग्य बनाउन सकिएको अध्ययनले देखिएको छ ।