विराटनगर। प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले एक नम्बर प्रदेशलाई दूध, फलफूल र मासुमा आत्मनिर्भर बनाउने बताएका छन् ।

मंगलबार विराटनगरमा रहेको दूग्ध विकास संस्थानको वितरण केन्द्र निरीक्षण गर्दै मन्त्री आङ्बोले कृषकले उत्पादन गरेको दूध संकलनलाई व्यवस्थित गरी प्रदेशलाई दूधसँगै फलफूल र मासुमा समेत आत्मनिर्भर बनाउने गरी सरकारले योजना बनाउने जानकारी दिए ।

लामो राजनीतिक संक्रमण र अस्थिरताले संस्थान संकटमा रहेको भन्दै मन्त्री आङबोले अब सरकारले यसको अवस्था सुधार गर्न काम गर्ने बताए। दूधसँगै हरेक कृषि उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउन सरकारले आगामी बजेट तथा नीति र कार्यक्रममा विषेश योजना ल्याउने उनले जानकारी दिए ।

प्रदेशमा अधिकाश जनता कृषि पेशामा आवद्ध रहेकोले कृषिलाई आधुनिकीकरण गर्दै व्यवसायिक कृषिमा जोड दिने मन्त्री आङ्बोले बताए । सो अवसरमा प्रदेश सांसद कुसुम श्रेष्ठले १ नम्बर प्रदेश कृषिमा उर्बरभूमि भएकाले हुनाले प्रदेश सरकाले कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

संस्थानका टेक्निकल अफिसर दामोदर ढकालले किसानलाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारले ल्याउनुपर्ने सुझाब दिए । उनले कृषि पेशालाई आत्मनिर्भर बनाउन पूर्वाधारमा लगानी गर्नुपर्ने पनि बताए ।