
कैलाली। कञ्चनपुरका केरा उत्पादक किसानले भारतीय केराको आयात रोक्न माग गरेका छन् । भारतीय केरा आयातमा लगाइएको भन्सार शुल्क नियमअनुसार बढाएर आयातलाई निरुत्साहित गर्न माग गरेका हुन् ।
क्वारेन्टाईन चेकजाँचविना आयात हुने केरासंग प्रतिस्पर्धा गर्न नसक्दा नेपालको केरा व्यवसाय धरासायी हुने जोखिम बढेको छ । भारतीय उत्पादन सस्तो हुने भएकाले प्रतिस्पर्धा गर्न नसक्दा नेपाली उत्पादन बिक्री नहुने अवस्था रहेको किसानको गुनासो छ ।
विश्वव्यापार संगठनको सदस्य राष्ट्र भएकाले केरा आयातमा प्रतिबन्ध लगाउन नपाईने भए पनि आयातमा क्वारेन्टाईन चेकजाँच गर्ने र नियमानुसार भन्सार शुल्क बढाईनु पर्ने माग किसानको छ ।
८० विघा क्षेत्रमा केरा खेती गर्दै आएका टीकापुरका कृषक बिनोदकुमार शाहले आत्मनिर्भरतर्फ उन्मुख कैलाली, कञ्चनपुरको केरा खेती भारतीय आयातका कारण जोखिममा परेको बताए । भारतमा लागत कम हुँदा सस्तो पर्ने भएकाले अधिकांश व्यवसायीले भारतीय केरा आयात गर्दा नेपाली केराले बजार पाउनै मुस्किल रहेको उनले बताए ।