
काठमाडौं । ६ नम्बर प्रदेशलाई अर्गानिक कृषि उत्पादनको प्रदेश बनाउने विषयमा नवनियुक्त कृषि तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ र ६ नम्बर प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबीच छलफल भएको छ ।
सिंहदरबारस्थित कृषिमन्त्री खनालको कार्यकक्षमा आज भेटघाट गर्दै मुख्यमन्त्री शाहीले ६ नम्बर प्रदेशलाई अर्गानिक प्रदेश बनाउन केन्द्र र प्रदेशले सहकार्य गर्नुपर्ने प्रस्ताव गरेका थिए । कृषिमन्त्रीसँग छलफल कार्यक्रममा प्रदेशका कृषिमन्त्री बिमला केसीको समेत सहभागिता रहेको थियो ।
प्रदेशकी कृषिमन्त्री केसीले मन्त्री खनालसँग ६ नम्बर प्रदेशको कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेकी छन् । मन्त्री खनालले मुख्यमन्त्री शाही र कृषिमन्त्री केसीलाई मन्त्रालयमा स्वागत गरेका थिए । भेटघाटकै क्रममा नवनियुक्त मन्त्री खनाललाई मुख्यमन्त्री शाहीले बधाई तथा शुभकामना समेत दिए ।