नुवाकोट। बेलकोटगढी नगरपालिकाका किसानलाई किबी खेतीमा आकर्षित गराउन नगरपालिकाले अनुदानमा बिरुवा वितरण गर्न थालेको छ ।
नगरपालिकाको कृषि क्षेत्रको बजेटबाट किसानलाई ७५ प्रतिशत अनुदानमा किबीको बिरुवा वितरण गरिएको हो । चिनी रोग र उच्च रक्तचापका बिरामीलाई उपयोगी हुने यो फल रु ३५० प्रतिकिलो ग्रामका दरले बिक्री हुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ बागवानी विकास अधिकृत छविलाल शर्माले जानकारी दिनुभयो ।
नगरपालिकाले नगर क्षेत्रमा दुई हजार २०० किबीको विरुवा यस वर्ष वितरण गर्ने योजना अघि सारेको छ । वडा नं ९ मा २५० बोट बिरुवा एकै व्यक्तिले रोपेको र सामूहिक रुपमा पनि किबी खेती शुरु भएको अधिकृत शर्माले बताउनुभयो ।
उक्त नगरपालिकाको वडा नं १, ९, ११, र ४ नं वडाको माथिल्लो भेगमा किबी खेती विस्तार गरिएको नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बताउनुभयो । नगरपालिकाले किबी खेतीका लागि यस वर्ष रु तीन लाख बजेटसमेत विनियोजन गरी कार्यक्रम अघि बढाएको छ ।