काठमाडौं ।  पुनर्निर्माण प्राधिकरणले चार किसिमका असहायलाई आफैँ घर बनाइदिने भएको छ। सरकारले दिएको अनुदान उपयोग गरी घर बनाउन नसक्नेहरूलाई प्राधिकरण आफैँले घर बनाइदिने नीति अवलम्बन गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसालले जानकारी दिए।

प्राधिकरणले ७० वर्ष नाघेका वृद्धवृद्धा, ६५ वर्ष नाघेका एक महिला, अपांग भएका र १६ वर्षमुनिका बालबालिका गरी चार प्रकारका भूकम्पपीडितको  वर्गीकरण गरेको छ। यी चार प्रकारको वर्गीकरणमा परेका र उनीहरूलाई सहायता दिने अरू मान्छे नभएको अवस्थामा प्रधिकरणले घर निर्माण गर्नेछ।

यसका लागि अहिले तथ्यांक संकलनको काम भइरहेको भुसालले बताए। माघ १६ गतेसम्म ४०० जना पीडित यो वर्गीकरणमा परेका छन्। ‘चार सय जना यस्ता पीडित हामीले पाइसकेका छौँ, थप निवेदन पनि सकंलन गरेर हामीले काम अघि बढाउनेछौँ’, भुसालले भने। यस्ता पीडितलाई प्राधिकरणले एक तले घरमा दुईदेखि तीन कोठेसम्मको घर बनाइदिने प्रतिवद्धता जनाएको छ।

पुनर्निर्माण प्रधिकरणले आगामी असार मसान्तभित्र तेस्रो किस्तावापतको रकम पनि वितरण गरिसक्ने लक्ष्य राखेअनुरूप यही समयभित्र यस्ता घर निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ। ‘हामीले असार मसान्तभित्र यस्ता घर निर्माण गरिक्ने लक्ष्य राखेका छौँ, यसका लागि परोपकारी संस्थाको खोजिमा छौँ’, ज्ञवालीले भने।

१० वा सोभन्दा बढी घर भएको वस्ती पुनर्निर्माण प्रधिकरण आफैँले स्थानान्तरण गर्ने र त्यो संख्याभन्दा कम भएको स्थानका पीडितलाई रकम दिने कार्यविधि प्रधिकरणले बनाएको छ।