बैतडी । बैतडीसहित मध्यपहाडी क्षेत्रमा गहुँ छर्न शुरु भएसँगै किसान गहुँ छर्ने काममा व्यस्त छन् । कात्तिक पहिलो सातादेखि मंसिर दोस्रो सातासम्म गहुँ छर्नका लागि उपयुक्त समय भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत कर्णबहादुर चन्दले बताउनुभयो ।
गहुँ छर्ने बेलामा खेतलाई राम्रोसँग खनजोत गरी गोबर मल हालेर गहुँ छरेमा उत्पादन राम्रो हुने उहाँले बताउनुभयो । बैतडीमा २० हजार ९०० हेक्टर क्षेत्रफल जमिनमा गहुँखेती गरिँदै आएको छ ।
छर्ने चटारो भए पनि सिँचाइ सुविधा नभएका ठाउँका किसान भने मार्कामा परेका छन् । दश हजार ६५० हेक्टरमा मात्रै सिँचाइ सुविधा भएकाले अन्य किसानले भने अकाशे पानीको भरमा बस्न बाध्य छन् ।
खास गरेर लेकाली क्षेत्रमा सिँचाइको सुविधा नहुँदा अकाशे पानीको भरमा गहुँखेती गर्नु परिरहेको किसानले बताएका छन् । सिँचाइको सुविधा नहुँदा सोचेअनुसार उत्पादन हुन नसकेको उनीहरूको भनाइ छ ।
सिँचाइको सुविधा नभएका ठाउँका किसान आकाश हेरेर बस्नुपर्ने बाध्यता रहिआएको सुर्नया गाउँपालिकाका किसान मोहनबहादुर विष्टले बताउनुभयो । जिल्लामा २० हजार ९०० हेक्टर जमिनमा गहुँखेती गरिँदै आए पनि १० हजार ५०० हेक्टरमा मात्रै सिँचाइको सुविधा छ । सिँचाइको सुविधा नभएका ठाउँमा आकाशे पानी नपरेकाले गहुँ छर्न समस्या भएको किसानले बताएका छन् ।
अधिकांश लेकाली क्षेत्रमा सिँचाइको सुविधा छैन् । बैतडीमा कात्तिक पहिलो सातादेखि मंसिर दोस्रो सातासम्म गहुँ छर्नका लागि उपयुक्त समय भए पनि सिँचाइ सुविधा नभएका ठाउँमा गहुँ छर्न समस्या भएको छ ।