
काठमाडौं । अहिलेसम्मकै इतिहास तोड्दै यो वर्ष सबैभन्दा धेरै धान उत्पादन हुने कृषि विकास मन्त्रालयले अनुमान गरेको छ । आर्थिक वर्ष २०७३र७४ मा १ खर्ब ४ अर्ब रुपैयाँबराबरको धान उत्पादन भएको थियो । चालु आर्थिक वर्ष २०७४र७५ मा अहिलेसम्मको रेकर्ड तोडेर करिब ५४ लाख टन धान फल्ने मन्त्रालयले प्रक्षेपण गरेको छ । गत वर्षको तुलनामा १ लाख ७० हजार टन उत्पादन बढ्ने छ । गत आर्थिक वर्ष ५२ लाख ३० हजार टन धान फलेको थियो ।
धान रोपण क्षेत्र वृद्धि, अनुकूल मौसम, सिँचाई, प्रविधि, मल, बीउको राम्रो व्यवस्था हुँदा धान उत्पादन बढ्ने मन्त्रालयले जनाएको छ । उत्पादकत्व बढेपछि अहिलेसम्मकै धेरै धान उत्पादन हुने मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले बताए । ‘यो वर्ष उत्पादकत्व बढेर साढे ३ प्रतिशत पुगेको छ,’ उनले भने, ‘धान उत्पादन ५४ लाख टन पुग्ने भएको छ ।’ गत वर्ष धान उत्पादन ३.३६ प्रतिशत रहेकोमा शून्य दशमल १४ प्रतिशत उत्पादकत्व बढेको कार्कीको दाबी छ।
विश्व बैंक र एसियाली विकास बैंकले तराईमा आएको बाढीले धान उत्पादन घट्ने अनुमान गर्दै सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य खुम्चिने प्रक्षेपण गरेका थिए । तर, उत्पादनले नयाँ रेकर्ड राख्ने भए पछि दातृ निकायको अनुमान नमिल्ने आशंका गरिएको छ।
यो वर्ष धान खेतीको क्षेत्रफल पनि विस्तार भएको छ । गत वर्ष १५ लाख २५ हजार हेक्टरमा धान खेती गरिएकोमा यो वर्ष बढेर १५ लाख ६२ हजार हेक्टर पुगेको छ । प्रतिहेक्टर ३.५ टनका दरले ५४ लाख ६७ हजार टन हुन्छ । त्यसमा वर्षातको समयमा तराईमा आएको बाढीले करिब ६७ हजार टनमा क्षति पुगे पनि ५४ लाख टन फल्ने कार्कीले दाबी गरे।
२०७२÷७३ मा ४२ लाख ९९ हजार १ सय टनमात्र धान फलेको थियो । त्यसअघि सबैभन्दा धेरै २०७०÷७१ मा ५० लाख ४७ हजार ४७ टन धान उत्पादन भएको थियो । प्रमुख खाद्यबालीको उत्पादन बढ्नु किसानलाई मात्र नभएर मुलुककै लागि खुसीको विषय भएको सापकोटाले बताए।
२०७३÷७४ मा चामलमात्रै करिब २३ करोड ८८ लाख रुपैयाँको आयात भएको थियो । नेपालमा भारत, चीनसहित थाइल्यान्ड, कोरिया, जापान, मलेसिया, बंगलादेश, अमेरिका, सिंगापुर र भियतनामबाट चामल आयात हुन्छ ।
सरकारले आगामी तीन वर्षमा धानमा आत्मनिर्भर बन्ने योजना बनाएको छ । कृषिमा धानको योगदान करिब २१ प्रतिशत छ । मनाङ र मुस्ताङमा बाहेक मुलुकका सबै जिल्लामा धान खेती हुन्छ । ६० मिटरदेखि ३ हजार ५० मिटरको उचाइमा धान खेती गरिन्छ । तराईमा ६९.१ प्रतिशत, पहाडमा २६.८ र उच्च पहाडमा ४.१ प्रतिशत क्षेत्रमा धान खेती गरिने मन्त्रालयले जनाएको छ । कूल खेती हुने क्षेत्रफलमध्ये ५०.२ प्रतिशत जग्गामा धान खेती हुन्छ।